स्याङ्जाको भीरकोटमा भएको स्वास्थ्य शिविरबाट ६ सय ६६ सेवाग्राही लाभान्वित

स्याङ्जाको भीरकोटमा भएको स्वास्थ्य शिविरबाट ६ सय ६६ सेवाग्राही लाभान्वित

629

काठमाण्डौं । खुमा अर्याल फाउन्डेसनको आयोजनामा स्याङ्जाको भीरकोट नगरपालिका संचालन भएको विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरबाट ६ सय ६६ सेवाग्राही लाभान्वित भएका छन् ।

गण्डकी मेडिकल कलेज र फाउन्डेसनको सहकार्यमा कालिका बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका स्थानीयहरूले स्वास्थ्य सेवा लिएका हुन्।

फाउन्डेसनको आयोजना र नेपाल रेडक्रस सोसाइटी , स्याङ्जाको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। सोही स्थानमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिेए।

उक्त कार्यक्रमकै दौरान युएईमा हालै सम्पन्न महिला यु-१९ टी-२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही १ लाख रुपियाँसहित सम्मान गरिएको छ ।

फाउण्डेशनले बुधबार खेलाडीहरू ज्योत्सिना मरासिनी, सीमाना केसी र कुसुम गोदारलाई नगद पुरस्कारबाट सम्मान गरेको हो । कार्यक्रममा स्याङ्जा जिल्ला क्रीकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि सम्मान गरिएको थियो। फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा, मेडिकल व्यवसायी एवं संस्थाका अभिभावक खुमा अर्याल र सांसद थापाले संयुक्त रूपमा खेलाडीहरूलाई पुरस्कारको चेक हस्तान्तरण गरेका थिए।

फाउण्डेशनले आफ्नो छैटौँ वार्षिक उत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान र खेलाडी सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै स्याङ्जा क्षेत्र नं.१ का सङ्घीय सांसद राजु थापाले खेलाडी देशको पहिचान र सम्पत्ति भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए।

तपाईको बिचार