सीता ओझा
एउटा घनघोर जंगलमा गाई चर्न जाने र बाघको बासस्थान रहेछ । एकदिन एक्कासी गाई र बाघको जम्का भेट भएछ । बाघलाई देखेर आतिएको गाई हतपत नजिकैको पोखरीतिर दौडेछ ।
पोखरी दलदलले भरीएकोले गाई भासिएछ । गाई पोखरीमा बसेको देखेर भोकाएको बाघ मुख मिठ्याउदै पोखरीतिरै गएछ ।
विस्तारै बिस्तारै गाईको लोभले दलदलतिर छिरेको बाघ बाहिर निस्कन नै सकेनछ । बाघ दलदलमा फसेको देखेर गाईले दया लागेर बाघलाई सोधिछे,
“ए बाघ भाइ ! यो जङ्गलको राजा को हँ ? “
बाघले गर्झदै भनेछ,
” म यहाँ जिउँदै हुदाहुदै तेरो यत्रो फुर्ति !”
” म हुँ यहाँको राजा ।”
” तँलाई के गर्न पर्यो नि ?”
गाईले बाघतिर हेर्दै सालिन भएर भनिछे,
” हामी दुबै यो पोखरीको दलदलमा फसि हाल्यौं ।”
” मेरो त घरमा मालिक छन् । ढिला भएछि बाछो पनि कराउँन थाल्छ । एकछिन ढिला भए पनि खोजीनीति गर्दै लिन आइ हाल्छन् । “
” भासिएको देखेपछि जसरी नि निकालेर लगि हाल्छन् । “
” तिमीलाई खोज्न आउने पनि कोही देख्दिन । गाह्रो पर्ला भनेर मायाले सोधेको !”
भनिछे ।
त्यसो भन्दाभन्दै गाईको मालिक आइपुगेछ । गाईलाई मालिकले पोखरीबाट अनेकौं उपाय गरेर बोकेर निकाले छ ।निकालेपछि पखालपुखुल गरेर सुमसुम्याउदै घरतिर लगेको देखेर बाघ रिसले मुरमुरिदै तलमाथि हल्लिन थालेछ ।
बलको घमण्डले हल्लिदा हल्लिदै बाघ त दलदलभित्र झन गाडिएछ । नेपाली राजनीतिका नायकहरुको घमण्ड र सत्ता शक्तिको मोह पनि बाघको भन्दा कम छैन नि ! भनेेर गाईको मालिकले गाईलाई सुनाउँदै लगेको सुनेर बाघ रिसले मुरमुरिँदा मुरमुरिँदै दलदलमा ढलेछ ।शक्तिको अहँकारले बाघको हाडखोड त्यहीँ दलदलमा गलेछ ।
(सुन्नेलाई सुनको माला,लेख्नेलाई फुलको ! यो कथा पढ्ने र बुझ्नेजतिको मनले कथा लेख्नेलाई धन्यवाद देला ! )
तपाईको बिचार