सीमा समस्याले निकास पाउँछ : परराष्ट्रमन्त्री

सीमा समस्याले निकास पाउँछ : परराष्ट्रमन्त्री

146

डडेलधुरा, १६ असार । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले शनिबार डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् ।

“अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ । हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौँ,” उनले भने, “त्यसलाई हामी व्यवहारमा पनि लागु गर्न चाहन्छौँ । संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौँ । तर, संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ, हाम्रो विचार नै छैन भन्नेचाहिँ होइन ।”

परराष्ट्र नीति परस्पर सन्धि र विगतको सम्झौतामा टेकेर सम्बन्ध सुधार हुने मन्त्री साउदले जनाए । उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रका रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

तपाईको बिचार

सम्बन्धित खबर