कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

781

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताउनुभएको छ ।

नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताउनुभयो । मुख्मयन्त्री शर्माले यसको प्रभावकारितामा जोड दिन सकेमात्र अपेक्षित विकास हुने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “प्रशासनिक सङ्घीयताको सही कार्यान्वयन हुन सकेको छैन । सङ्घीयता कार्यान्वयनका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । देखिएका ती समस्यालाई हल गर्नुपर्छ । जनता र राष्ट्रका लागि कानून कार्यान्वयन आवश्यक कुरा हो तर चुनौती धेरै छन् । यसमा सम्बन्धित सबै सरोकारवालामाझ छलफल हुनुपर्दछ ।”

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रशासनिक भार नपर्ने गरी कानून निर्माण गर्नु आजको पहिलो आवश्यकता हो भन्नुभयो । “सेवाग्राही लाभ हुने तरिकाले कानून निर्माण हुनुपर्दछ”, मन्त्री जिसीले भन्नुभयो, “तीनवटै सरकारका क्षेत्राधिकार नबाझिने गरी आपसी समन्वय गरेर साझा अधिकारका कानून निर्माण कार्यलाई प्राथमिकता दिनुपर्छ ।”

उहाँका अनुसार प्रदेश सरकारबाट एकल अधिकारका विधेयकलाई संसद्मा लैजाने र त्यहाँबाट पारित गरेर संरचनात्मक विकास र स्थापना गर्न मन्त्रालयमार्फत अगाडि बढाउने सोच बनाइएको छ ।

तपाईको बिचार