सुर्खेत, ६ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई भाई कांग्रेस भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कांग्रेसको धर्मपुत्र बनाएको बताउनुभएको छ । माओवादीको क्रान्तिका सपना समाप्त भएको उल्लेख गर्दै उहाँले माओवादीले एक्लै निर्वाचनमा गए पाँच सीट जीते प्रचण्डलाई सुनको माला लगाएर स्वागत गर्ने घोषणा गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले सशस्त्र जनयुद्धको नाममा माओवादीले धनयुद्ध गरी कर्णालीमा ठूलो क्षती पुर्याएको उल्लेख गर्नुभयो । उहाँले १० वर्षे युद्धमा मृत्यु हुने मध्येमा करिव ५० प्रतिशत कर्णाली प्रदेशबाट नै भएको जानकारी दिनुभयो । आर्थिक, शिक्षा, विकास र समृद्धिमा पछि परेको कर्णाली प्रदेशमा माओवादीले सामान्तवादी नीतिका कारण अहिलेसम्म अपेक्षाकृत विकास हुन नसकेको उल्लेख गर्दै उहाँले सामन्तवाद र फाँसीवादीको सोचमा रहेको माओवादीलाई युथफोर्सको माध्यमबाट अब अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘१० वर्षे जनयुद्धको नाममा माओवादीले धनयुद्धमात्र मच्चायो । कर्णालीका सोझा साझा जनतालाई प्रयोग गरी ठूलो क्षती पुर्यायो । करिव ५० प्रतिशतको मृत्यु कर्णाली प्रदेशका गरिव जनता नै छन् । कर्णालीका जनतालाई प्रयोग गरेर माओवादीले सामन्तवाद, साम्राज्यवाद र फाँसीवादको नेतृत्व गरिरहेको छ । माओवादीका शिर्ष नेताहरु सुन तस्कर, भ्रष्टाचारी, अनियमितता लगायतको नायक बने । हिजो एमालेलाई भाई कांग्रेस भन्ने माओवादी अहिले माओवादी कांग्रेसको भाइ कांग्रेसमात्र हैन, कांग्रेसको धर्मपुत्र नै बन्यो । संसदीय व्यवस्था बोकाको टाउको देखाएर सुंगुरको टाउको बेच्ने व्यवस्था हो भन्ने माओवादीको छलाङ् तथा क्रमभङ्गता भन्ने कांग्रेसको पैतलामा सुम्पिए । त्यसैले बधाई छ, वर्षमान पुन, अब कांग्रेसमा प्रवेश गर हामी माला लगाईदिन्छौं । वाईसिएल सपनामा पनि देखिँदैन । त्यसैले अब तीन वटै तहका राष्ट्रिय युवा संघको युथफोर्स बनाएर सामन्तवादका अवशेस, दलाल नोकसायी, तस्करका नाइकेलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’
वर्तमान सत्ता गठबन्धन नाकमा नथ्थी लगाएर एमालेको मागमा आउन बाध्य भएको बताउनुभयो । एमालेलाई कसैले माइनस गरेर अगाडी बढ्छु भन्ने सपना नदेख्न सत्ता गठबन्धनलाई चेतावनी दिँदै उहाँले एमाले भ्रष्टाचार, अनियमितता, तस्करी लगायतका काण्डहरुको निष्पक्ष छानविन गर्ने पक्षमा दृढ अडानका साथ रहेको स्पष्ट पार्नुभयो । तस्कर, अपराधी, भ्रष्टलाई कानुनी कठघरामा ल्याउनुपर्ने उल्लेख गर्दै उहाँले देशमा भएका जुनसुकै काण्डहरुलाई छानविन गर्न खुट्टा कमाउनु नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केही समय अघिदेखी एमालेले सुन काण्डको छानविनको लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गरिरहेको थियो । तर सत्ता गठबन्धनले उक्त एमालेको माग स्वीकारेको थिए । कारण थियो, उक्त काण्डमा सत्ता गठबन्धनका नेताहरुको संलग्नता हुने देखिन्छ । आफु र आफ्नो नेताहरु बचाउन माओवादी र कांग्रेसका नेताहरुले एमालेको मागलाई बेवास्ता गरी जबरजस्त अगाडी बढ्ने नीति लिएका थिए । तर एमाले आफ्नो मागबाट पछि नहटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेसका सभापति शेरबहादुर देउवा नाकमा नथ्थी लगाएर एमालेको मागमा आउन बाध्य भएका छन् । त्यसैले एमालेलाई कसैले माइनस गरेर अगाडी बढ्छु भन्ने सपना देखेको छ भने त्यो दिवा सपना नदेखे हुन्छ । त्यसैले एमाले भ्रष्टाचार, अनियमितता, तस्करी लगायतका काण्डहरुको निष्पक्ष छानविन गर्ने पक्षमा दृढ अडानका साथ अगाडी बढेको छ । तस्कर, अपराधी, भ्रष्टलाई कानुनी कठघरामा ल्याउनुपर्छ । छानविन गर्न खुट्टा कमाउनु हुँदैन ।’
तपाईको बिचार