काठमाडौं । श्रावण महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफागरौँ’ अभियान भव्य रूपमा सम्पन्न भएको छ। श्रावणको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो।
द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
त्यस्तै, द कोका–कोला फाउन्डेसनका आदित्यले
क्रिएसनसंगको सहकार्यमा निकै राम्रो र प्रभावकारी कामहरु भै रहेको बताउँदै अगामी दिनमा यसलाई अझै बिस्तार गरेर लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
समापन समारोहमा बोल्दै क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विभिन्न चुनौतीका बाबजुद अभियानलाई निरन्तरता दिन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
उहाँले द कोका–कोला फाउन्डेसनसँगको सहयोग र सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्दै देशव्यापी रूपमा लैजान आग्रह गर्नुभयो। ‘सफागरौँ’लाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तर चल्ने नागरिक पहलका रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
क्रिएसन नेपालकी सचिव रोशना सुवेदीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो। मन्दिर दर्शन गर्न जाने वा नजाने विषय व्यक्तिको व्यक्तिगत छनोट हुन सक्ने भए पनि धार्मिक तथा सांस्कृतिक धरोहर एवं आस्थाका केन्द्रलाई सफा, सुग्घर र सांस्कृतिक गरिमा कायम हुने अवस्थामा राख्नु जागरुक समाजका हरेक नागरिकको दायित्व भएको उहाँको भनाइ थियो।
उहाँले अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने विभिन्न कलेज, संघसंस्था तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै, क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले अभियानको अन्तिम सोमबारसम्म आइपुग्दा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो। अभियानमा विभिन्न कलेजका सयौँ विद्यार्थी सहभागी भएको उहाँले बताउनुभयो।
प्रत्येक सोमबार फोहोरमैला व्यवस्थापन तथा सरसफाइको क्षेत्रमा काम गर्ने दुई दर्जनभन्दा बढी सफाइकर्मीसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। अभियानमा विद्यार्थी, स्वयंसेवक तथा सफाइकर्मीको सक्रिय सहभागिताले पशुपति क्षेत्रको सरसफाइमा महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ।
अभियानको समापन अवसरमा विगत चार सोमबारदेखि निरन्तर रूपमा सहभागी विभिन्न कलेजका विद्यार्थी, स्वयंसेवक तथा सफाइकर्मीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो।
आयोजकका अनुसार धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेका एवं विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थलहरूको स्वच्छता तथा सरसफाइलाई प्राथमिकतामा राख्दै ‘सफागरौँ’ अभियानलाई आगामी दिनमा देशव्यापी रूपमा सञ्चालन गरिनेछ।
तपाईको बिचार