११ स्वर्णसहित आर्मी बन्यो राष्ट्रिय बक्सिङ च्याम्पियन, वर्षा श्रेष्ठ र प्रेम चौधरी उत्कृष्ट खेलाडी घोषित

635

काठमाडौं । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब ले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण पदकसहित समग्र च्याम्पियन बन्न सफल भएको हो।

आर्मीले पुरुषतर्फ ६ स्वर्ण, ६ रजत र ५ कांस्य तथा महिलातर्फ ५ स्वर्ण, ५ रजत र १ कांस्य गरी कुल ११ स्वर्ण, ११ रजत र ६ कांस्य पदक जित्दै पदक तालिकाको शीर्ष स्थान कब्जा गर्यो। बागमती प्रदेश २ स्वर्ण, ८ रजत र १२ कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब २ स्वर्ण, २ रजत र २ कांस्यसहित तेस्रो स्थानमा रहे।

महिलातर्फ ५१ केजीमा आरती भोम्जन, ५४ केजीमा वर्षा श्रेष्ठ, ६० केजीमा पुनम रावल, ६५ केजीमा चन्द्रकला थापा र ७५ केजीमा निरु गुरुङले स्वर्ण जिते। पुरुषतर्फ ५५ केजीमा प्रेम चौधरी, ६० केजीमा नितेश नेपाली, ७० केजीमा गेश कुमार श्रेष्ठ, ८० केजीमा दीपक श्रेष्ठ, ९० केजीमा मदन कार्की तथा ९० प्लस केजीमा गणेश प्रधान स्वर्ण विजेता बने।

प्रतियोगिताको समापन समारोहमा नेपाल आर्मीकी वर्षा श्रेष्ठ ‘बेस्ट फिमेल बक्सर’ घोषित भइन् भने नेपाल आर्मीका प्रेम चौधरी ‘बेस्ट मेल बक्सर’ घोषित भए। उनीहरूको उत्कृष्ट प्रदर्शनले आर्मीको समग्र उपाधि यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

यसैगरी, आईबीए थ्री स्टार रेफ्री/जज सन्तोष आले मगर प्रतियोगिताको उत्कृष्ट रेफ्री/जज (Best Referee/Judge) घोषित भए। प्रतियोगिताको प्राविधिक प्रमुख (Technical Delegate) को जिम्मेवारी पुष्करराज पन्तले निर्वाह गरेका थिए।

फाइनलका अधिकांश खेलमा आर्मीका खेलाडीले दबदबा कायम राखे। महिलातर्फका चार तथा पुरुषतर्फका चार फाइनल खेल ५–० को एकतर्फी निर्णयमा टुंगिएका थिए भने ९० केजी र ९० प्लस केजीका फाइनल प्रतिस्पर्धा ३–२ को प्रतिस्पर्धात्मक नतिजामा सम्पन्न भएका थिए।
नेपालका सातै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको प्रतियोगिताले राष्ट्रिय बक्सिङमा प्रतिस्पर्धात्मक स्तर अझ सुदृढ भएको संकेत दिएको नेपाल बक्सिङ महासंघले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर