१३ चैत , ललितपुर। नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन शुक्रबार शुरु भएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड ब्याङक्वेटमा समितिका अध्यक्ष कृष्ण प्रसाद पन्तको सभापतित्वमा तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको समुद्घाटन समारोहमा यातायात क्षेत्रका नेतृत्वदायी व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा समितिका अध्यक्ष पन्तले देशमा भर्खर सम्पन्न आम निर्वाचनबाट बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारले यातायात क्षेत्रमा लामो समयदेखि रहिआएका समस्याहरु समाधान गर्ने विश्वास व्यक्त गरे। उनले सातौं अधिवेशनबाट चुनिएपछि आफ्नो नेतृत्वको समितिले भवन निर्माण सप्पन्न गरिसकेको जानकारी दिए। त्यस्तै , प्रमुख अतिथि स्वाँरले समितिमा आउने नयाँ नेतृत्वले यातायात व्यवसायीहरुको पेशागत हकहितका लागी आजै बनेको नयाँ सरकारसङ्ग मिलेर काम गर्न सुझाव दिए। उनले नयाँ सरकारले पहिले बनेको आयोगले यातायात सुधारको लागी दिएको प्रतिवेदन कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरे।
चैत १३ र १४ गते दुई दिनमा सम्पन्न हुने अधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको चयन समेत गर्नेछ । समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरू चयन हुनेछन् ।
सभामा समितिको वार्षिक गतिविधि, आर्थिक आय–व्यय विवरण तथा भावी कार्यदिशामाथि विस्तृत छलफल हुने समितिले जनाएको छ । प्रस्तुत गरिएका प्रतिवेदनहरु अनुमोदन, आर्थिक विवरण पारित, व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । त्यसैगरी सरकारसँगको समन्वय, नीति–नियम, कर प्रणाली, यातायात व्यवस्थापन तथा ट्रिपर–ट्रक व्यवसायीहरूको हक–हित संरक्षणका विषयमा आवश्यक रणनीति तय गरिनेछ । आगामी कार्यकालका लागि कार्ययोजना तथा कार्यक्रम पनि सभाबाट अनुमोदन गरिने जनाइएको छ ।
तपाईको बिचार