काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्ला ३४ वर्षमा पटक–पटक सरकार परिवर्तन भए पनि त्यसको अनुभूति नागरिकले गर्न नपाएको बताएका छन्।
नेपाली कांग्रेस रामेछापका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले बिहीबार आयोजना गरेको बृहत् चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उपसभापति शर्माले राजनीतिक अस्थिरताका कारण नागरिकमा परिवर्तनको अनुभूति हुन नसकेको उल्लेख गरे।
उनले भने, “३४ वर्षको अवधिमा ३० वटा सरकार बने। परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र भयो होला, तर आम नागरिकले त्यो अनुभूति गर्न सकेनन्।”
शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै रामेछापका विकास निर्माणका काममा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको दाबी गरे। “रामेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ। पहिले कलेज पढ्न सदरमुकाम वा काठमाडौं जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै प्लस टु पढ्ने अवसर बनेको छ,” उनले भने।
उनका अनुसार गाउँ–गाउँमा खानेपानीको पहुँच विस्तार भएको छ, यद्यपि समस्या अझै पूर्ण रूपमा समाधान भइनसकेको स्वीकार गरे। “पानीको दुःख अझै बाँकी छ, तर पहिलाभन्दा अवस्था सुधार भएको छ,” शर्माले बताए।
उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रमा भएका प्रगतिलाई पनि कांग्रेसको नीतिगत भूमिकासँग जोड्दै कांग्रेस सरकारमा हुँदा मात्र होइन, बाहिर हुँदा पनि विकासका आधार तयार भएको बताए।
यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएको स्वीकार गर्दै भने, “हामीले गर्न नसकेका धेरै काम छन्। केही कमजोरीका कारण नागरिक, मतदाता र विशेषगरी युवा पुस्ता हामीसँग रुष्ट बने।”
तपाईको बिचार