काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा मोरङमा कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सन्दर्भमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच कुटाकुट भएको हो।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन्। संस्थापन अर्थात सभापति शेरबहादुर देउवा र इतर समूहका शेखर कोइराला समूहका नेताहरूबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता कुटिएका छन्।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषयमा गएपछि विवाद सुरु भएको हो। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताइएको छ।
स्ववियु सभापति जसवन्त पौडेल देउवा समूहका हुन् भने जिल्ला सभापति पोखरेल कोइराला समूहका हुन्। उनीहरूको बीचको विवादका कारण कुटाकुट भएको हो। यस झडपमा नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन्। अहिले उनीहरूको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भइरहेको छ।
तपाईको बिचार