काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा एक साता लामो विदेश भ्रमण पूरा गरी स्वदेश फर्केकी छन् । ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर उनी बिहीबार स्वदेश फर्किएकी हुन् ।
भारतीय विदेशमन्त्री डा.एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै राणाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् । सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता थियो । सम्मेलनमा राणाले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यसैगरी ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलंकाका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन् । इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
‘मन्त्री राणाले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति सम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी दिइन् । यस विषयमा हिजोमात्र पनि आफूले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।
‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुव्र्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ,’ उनले भनिन्् ।
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ । घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री राणाले दिइन् ।
तपाईको बिचार