खानेपानी संस्थानलाई बलियो र सान्दर्भिक बनाउनुपर्छ : महाप्रबन्धक ढकाल

735

१५ फागुन , काठमाडौं । नेपाल खानेपानी संस्थानको ३७औं वार्षिकोत्सवको अवसरमा संस्थानलाई खारेज गर्ने आवाज उठाउनु भन्दा बलियो र सान्दर्भिक बनाउन खानेपानी मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिइएको छ। संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा विशेष समारोहको आयोजना गरेर मनाइएको वार्षिकोत्सवमा संस्थानका संचालक समितिका अध्यक्ष डा. ढुण्डीराज भट्टराईको सभापतित्व र खानेपानी मन्त्रालयका निमित्त सचिव मिना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । संस्थानका महाप्रबन्धक ई. अर्जुन बाबु ढकाल, मन्त्रालयका अधिकारीहरु, खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगका अध्यक्ष रुद्र प्रसाद गौतम , संस्थानका कर्मचारीहरु लगायतको उपस्थिति समारोहमा रहेको थियो।

वार्षिकोत्सव समारोहमा संस्थानको वर्तमान अवस्था र आगामी नीति तथा योजनाको बारेमा चर्चा गरिनुका साथै उत्कृष्ट शाखा तथा कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा संस्थानका पूर्वमहाप्रबन्धकहरुलाई पनि योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि निमित्त सचिव मिना श्रेष्ठले संस्थानले ठुला आयोजनामा हात हाल्नु अगाडि आफ्नो क्षमता वृद्धि र मन्त्रालयसङ्ग आवश्यक समन्वय गर्नमा ध्यान दिनुपर्ने बताइन। संस्थानलाई टिकाउने वा के गर्ने भन्ने कुरा संस्थानकै कर्मचारीको कार्यशैलीमा निर्भरता रहने उनले जनाइन। मन्त्रालयले संस्थानलाई पूर्ण रुपमा सहयोग गर्दै आएको उनको भनाइ थियो। पोखरा , राप्ती , विराटनगर, बुटवल लगायतका आयोजनामा संस्थानले आवश्यक कार्यक्षमता र समन्वय गर्न नसकेको अनुभव गरेको सचिव श्रेष्ठको भनाई थियो।

कार्यक्रममा संस्थानका संचालक समितिका अध्यक्ष डा. ढुण्डीराज भट्टराईले आगामी सन २०३० सम्ममा सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सस्थानले प्रयास गर्ने बताए।

कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ई. अर्जुन बाबु ढकालले लामो र गर्विलो इतिहास रहेको संस्थानले अहिले १ लाख ७१ हजार ग्राहक र २५-३० लाख जनसंख्यालाई खानेपानीको सेवा दिइरहेको जानकारी दिए। हाल संस्थानले आवश्यक भन्दा कम कर्मचारीबाट काम गरिरहेको अवस्थामा लोकसेवा आयोगले पदपूर्ति गर्ने प्रक्रियामा रहेको र करारका कर्मचारीलाई पनि तीन तहसम्म यहीँबाट पदपूर्ति गर्ने व्यवस्थासहित संचालक समितिले कार्यविधि बनाउने महाप्रबन्धक बताए । संस्थानलाई बलियो र सान्दर्भिक बनाउन मन्त्रालयले काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । उपभोक्तालाई सेवा दिन संस्थानले चुस्त र गुणस्तरिय ढंगले काम गर्नुपर्ने उनले बताए । उक्त कार्यक्रमकाे सन्चालन केदार धमलाले गरेका थिए।

नेपाल खानेपानी संस्थान देशभरका सहरी क्षेत्रहरूमा स्वच्छ, सफा र सुरक्षित खानेपानी तथा ढल निकास सेवा उपलब्ध गराउने प्रमुख सरकारी निकाय हो। यो संस्थानले उपभोक्ताको स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दै पानीको प्रशोधन, वितरण र मर्मत , सम्भारको कार्य गर्दछ, जसको नेतृत्व नेपाल सरकारद्वारा नियुक्त अध्यक्षले गर्ने गर्दछन्।

तपाईको बिचार