एमालेको ११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक रूपमा सफल : महासचिव पोखरेल

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक रूपमा सफल : महासचिव पोखरेल

641

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको महासचिव शंकर पोखरेलले बताउनुभएको छ । महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले महाधिवेशनका सन्देश र संकल्प अब पार्टी पंक्तिले आम जनतामाझ प्रभावकारी रूपमा लैजानुपर्ने उल्लेख गर्नुभएको छ ।

पोखरेलका अनुसार विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको छ, जसले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । उहाँले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक रहेको उल्लेख गर्नुभएको छ । भक्तपुरको सल्लाघारीस्थित करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु त्यसको प्रमाण भएको उहाँको भनाइ छ ।

महाधिवेशनले पार्टी नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा ओलीमाथि केन्द्रित घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश स्पष्ट रूपमा प्रवाह गरेको महासचिव पोखरेलले बताउनुभयो । साथै नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएको र उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भएको र विजय–पराजय दुवै पक्षले निर्वाचन प्रक्रिया तथा परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेको भन्दै पोखरेलले यसले पार्टीको लोकतान्त्रिक छविलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो । आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत भएको उहाँको भनाइ छ ।

महाधिवेशन व्यवस्थापन चुस्त र दुरुस्त रहेको उल्लेख गर्दै पोखरेलले केही प्राविधिक समस्या आए पनि समयमै समाधान गरिएको जनाउनुभयो । छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले एमालेको नेतृत्वकारी भूमिका स्थापित गरेको उहाँको दाबी छ ।

महाधिवेशन सफल पार्न महत्वपूर्ण भूमिका खेलेका कमरेड विष्णु रिजालको निर्वाचनमा पराजय दुःखद पक्ष भएको उल्लेख गर्दै उहाँले यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको र त्यसलाई सच्याउन वैचारिक तथा राजनीतिक प्रशिक्षण आवश्यक रहेको औँल्याउनुभयो ।

समग्रमा ११औँ राष्ट्रिय महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गर्दै पोखरेलले यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको बताउनुभयो । पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीति व्यवहारमा उतारिएको र करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्य निर्वाचित भएको उहाँको भनाइ छ ।

तपाईको बिचार