कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति हो : महामन्त्री थापा

968

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल एउटा राष्ट्रिय पार्टी मात्रै नभई देश सम्हाल्ने जिम्मेवारी बोकेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनुभएको छ।

नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी जोडिएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय शक्ति चुक्दा त्यसको मूल्य देशले नै चुकाउनुपरेको अनुभव विगतमा देखिएको बताउनुभयो।

महामन्त्री थापाले कांग्रेसलाई केवल निर्वाचन जित्नका लागि मात्र शक्ति आवश्यक नभई देशलाई निकास दिन पनि बलियो भूमिका आवश्यक रहेको स्पष्ट पार्नुभयो। “कांग्रेस पार्टी मात्रै होइन, राष्ट्रिय शक्ति हो। त्यसैले कांग्रेसलाई हिम्मत र जनताको साथ चाहिन्छ,” उहाँले भन्नुभयो। विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्याउँदै आफू हारेर पनि देशलाई जिताउने पार्टी भएको प्रमाणित गरेको उहाँको भनाइ थियो।

उहाँले निर्वाचनबाट जुनसुकै पार्टीले लाभ लिए पनि अन्ततः देशलाई जिताउने जिम्मेवारी कांग्रेसकै हुने उल्लेख गर्नुभयो। कांग्रेसले राम्रो काम गरे मतदाताले स्वाभाविक रूपमा साथ दिने भन्दै भीड उचाल्ने र उत्तेजना फैलाउने राजनीति कांग्रेसको चरित्र नभएको उहाँले स्पष्ट गर्नुभयो।

कुशासनबाट आजित भएका नागरिकलाई समेट्दै देशलाई सुशासन र विकासको उचाइमा पुर्‍याउने दायित्व कांग्रेसको रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसले पुनः एकपटक देश सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो। “गल्ती र कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ,” उहाँले थप्नुभयो।

विगतमा पार्टी छोडेका नेता–कार्यकर्ताको पुनरागमनले कांग्रेस थप सशक्त बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाभर कांग्रेसले ५६ प्रतिशत जित हासिल गरेको स्मरण गर्दै यसपटक थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

पार्टी प्रवेश कार्यक्रममा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार, वडा नं १३ का वडाध्यक्ष गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायत विभिन्न व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

तपाईको बिचार

सम्बन्धित खबर