दृढ अठोट र उर्जाशील, आचरणशील नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

दृढ अठोट र उर्जाशील, आचरणशील नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

615

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाट बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आग्रह गर्नुभएको छ । उहाँले नविन सोच, शैली र योजना कार्यान्वयन गर्न दृढ अठोट, उर्जाशील तथा आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभयो ।

३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनअपेक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । इतिहासबाट सिक्दै वर्तमानका आवश्यकता सम्बोधन गरी भावी पुस्तालाई समृद्ध नेपाल सुम्पने जिम्मेवारीबाट चुक्न नहुने उहाँको भनाइ थियो ।

राजनीति पेशा वा व्यवसाय नभई समाजसेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताको मुख्य अपेक्षा पनि यही रहेको स्मरण गराउनुभयो । युवा पुस्ताको आन्दोलनले अभिव्यक्त गरेको चाहना पनि जिम्मेवार र सेवामुखी नेतृत्व नै भएको उहाँले बताउनुभयो ।

देशमा विद्यमान समस्याको समाधानका लागि जनताको अभिमत नै लोकतन्त्रको सर्वोच्च विधि भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन अपिल गर्नुभयो । निर्वाचनमार्फत सामाजिक न्याय र सुशासनसहित समृद्ध नेपाल निर्माणको अभियानलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेका सेवा र सहरी व्यवस्थापनमा देखाएको नविनता र सक्रियताको प्रशंसा गर्नुभयो । सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली संरक्षण, हरियाली प्रवर्द्धन, सांस्कृतिक तथा भौतिक सम्पदाको पुनःस्थापना, एकीकृत सहरी विकास र विद्युतीय शासनका प्रयास महानगरका उदाहरणीय काम भएको उहाँले बताउनुभयो ।

सूचना प्रविधिको प्रयोग, एकल सेवा केन्द्र सञ्चालन र गुनासो व्यवस्थापन प्रणालीले महानगरलाई नागरिकमैत्री, उत्तरदायी र पारदर्शी बनाएको उल्लेख गर्दै उहाँले यसले ‘नागरिकको आँगनको सरकार’ सुदृढ भएको सन्देश दिएको धारणा राख्नुभयो ।

काठमाडौँ नेपालको राजनीतिक परिवर्तन र शासकीय रूपान्तरणको साक्षी सहर भएकाले यहाँका नीति, योजना र अनुभव अन्य पालिकाका लागि उदाहरणीय हुने राष्ट्रपति पौडेलले बताउनुभयो । राजधानीको समृद्धिका लागि महानगरपालिकाका योजना कार्यान्वयनमा सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

तपाईको बिचार