एमाले महाधिवेशन : ओली पक्षबाट को को बन्दैछन् उम्मेदार ?

एमाले महाधिवेशन : ओली पक्षबाट को को बन्दैछन् उम्मेदार ?

638

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।

आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

एमालेको पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् ।

जस अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीमा उम्मेदवार बन्नेको नाम टुंगाएको छ । अध्यक्षमा ओली आफै प्रतिष्पर्धा गर्दैछन् भने उनको समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने भएका छन् । त्यस्तै ओली पक्षबाट महासचिव शंकर पोखरेलनै उम्मेदवार बन्ने निश्चित भएको छ । महासचिवका लागि प्रदीप ज्ञवालीले दाबि गरेपनि उनलाई उपाध्यक्षमा मनाइएको ओली निकट एक नेताले जानकारी दिएका छन् ।

त्यस्तै ओली पक्षको उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम तय भएको छ । त्यस्तै नौं सचिवमा ओली पक्षबाट महेश बस्नेत, डा. राजन भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई र हिक्मत कार्कीको नाम तय भएको छ ।

अहिले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फारम वितरण शुरु गरिसकेको छ भने उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

तपाईको बिचार