काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा सहभागी हुन बाराको सिमरा जाँदै गरेका एमाले नेता महेश बस्नेतलाई जेन–जेड युवाहरूले विरोध जनाएपछि प्रवेश रोकिएको घटनाप्रति उनले कडा प्रतिक्रिया दिएका छन्। बस्नेतले आफूहरू यस्ता अवरोधबाट विचलित नहुने बताएका छन्।
सिमरा विमानस्थल क्षेत्रमा ‘जेन–जेड’ समूहका युवाले विरोध गरेपछि बस्नेत र एमाले महासचिव शंकर पोखरेलको टोली रोकिएको थियो। विरोधसँगै एमाले कार्यकर्ताले प्रतिरोध गरेपछि क्षेत्राको अवस्था केही समय तनावपूर्ण बनेको र कर्फ्युसमेत लगाइएको थियो।
घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै बस्नेतले विभिन्न दलका आवद्ध समूहलाई ‘अराजक भिड’ भनेर उल्लेख गर्दै राज्यले सामान्य घटनालाई नियन्त्रण गर्न नसक्नु र कर्फ्यु लगाउनु नैतिक रूपमा गलत भएको बताए।
उनले सरकारमाथि मौलिक अधिकार सीमित गरेको आरोप लगाउँदै भने —
“सभा–सम्मेलन गर्ने, आफ्नो विचार राख्ने अधिकार संविधानले दिएको मौलिक अधिकार हो। यस्तो अधिकार दमन गरेर दलगत गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु नै हास्यास्पद देखिन्छ।”
बस्नेतले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै लोकतन्त्र, कानुनी शासन र सुशासनको खिल्ली उडाएको आरोप लगाए।
उनका अनुसार जनताले अब सरकारको मनसाय बुझिसकेका छन्।
अन्त्यमा उनले यस्ता अवरोधले आफूहरू विचलित नहुने बताउँदै लोकतन्त्र र सुशासनको पक्षमा आफ्नो संघर्ष निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।
तपाईको बिचार