काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले नेपाली जनतालाई सम्बोधन गर्दै संविधानको महत्व र देशको सार्वभौमसत्ताको रक्षा गर्न एकताको अपील गर्नुभएको छ।
ओलिले सामाजिक संजालमार्फत आफ्नो सन्देशमा भन्नुभएको छ कि आजको संविधान दिवस नेपाली जनताका लागि गौरवको दिन हो, जसमा ७० वर्षसम्मको संघर्षपछि संविधानसभाले जारी गरेको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित गरेको छ।
उहाँले संविधान निर्माणका क्रममा भोगिएका चुनौतीहरू स्मरण गर्दै भन्नुभयो, “नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।”
पूर्व प्रधानमन्त्री ओलीले संविधान जारीपछिका उपलब्धिहरूको समेत उल्लेख गर्दै भन्नुभयो, “हामी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर–दक्षिण जोड्ने यातायात संरचना निर्माण गर्दै थियौं। उत्तरी छिमेकीसँग यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गर्दै विकास संरचनाहरूको जग बसेको थियो। अर्थतन्त्र तंग्रदै थियो।”
गत साता जेन(जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले स्पष्ट पार्नुभयो कि “सरकारले प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थिएन। स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन हुनु आवश्यक छ।”
साथै, उहाँले संविधानमाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भन्नुभयो, “सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरू क्षतिग्रस्त भए। यसका पछाडिका षड्यन्त्रहरू समयले बयान गर्नेछ।”
पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई चेतावनी दिंदै भन्नुभयो, “हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ। सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्न आवश्यक छ। हाम्रो एकताले मात्रै देशलाई उत्पन्न सङ्कटबाट उठाउन र जोगाउन सक्छ।”
अन्तमा उहाँले सबैमा अपील गर्नुभयो स् “संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।”
तपाईको बिचार