काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उनले उनीहरूको संवैधानिक अधिकार संरक्षण गर्दै राज्यका हरेक निकायमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका अधिकार संरक्षण गर्नुपर्ने जनाउँदै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, सम्मानपूर्ण जीवनयापनलगायत नागरिक अधिकार व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सार्वजनिकस्थल तथा कार्यस्थलमा अपाङ्गतामैत्री वातावरण निर्माण गरी उनीहरूलाई सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कानुनी र सामाजिक सुधारको खाँचो औँल्याउँदै उनले त्यसका लागि राजनीतिक दलहरू र नागरिक समाजको सहयोग आवश्यक रहेको बताएका छन् ।
यसवर्ष ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारा तय गरिएको छभने नेपालमा राष्ट्रिय जनगणनाअनुसार दुई दशमलव दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।
तपाईको बिचार