पात हल्लिदा झरेको शीत

पात हल्लिदा झरेको शीत

715

काठमाडौँ, २१ फागुन । फागुनको तापमान बढेसँगै राजनीतिक सगर्मी र कर्मचारीको भागदौड मच्चिएको छ । अख्तियारले सम्पत्ति र सान सौगात छानविन गर्ने भएपछि देशको प्रशासन प्रमुखको रूपमा रहेका मुख्य सचिव बैकुण्ठ अर्याल घरमा आराम गर्ने तयारीमा लागेका छन् । फागुनको २० गते बर्षा भएसँगै अव बुढेसकालमा जाडो थाम्न सकिन्न भन्ने एकीन गरेर २१ गतेबाट उनी घरविदामा बसे ।

कार्यालयको हिटरका चारवटा युनिट चालुगर्दा बढेको तापलाई दुई युनिट बन्द गर्दापनि उनले धर पाएनन् । टेरामक्स प्रविधिका बारेमा ह्वाट्सपमा विकल पौडेलसँग भएको दोहोरो संवादले घरको रंग गाढा देखिएपनि आफ्नै कोटमा भने दाग लगायो । यो कोट राजनीतिक संरक्षणमा कतिदिन टिक्न सक्छ भन्ने धेरैको आँकलन अन्तत नौ महिनाको वरपर हल्का वर्षा हुँदा नै हिलाम्मे देखियो ।

शीरको रूपमा रहेका प्रचण्डले ‘अव म रातो घर र बार्दलीको तनाव झेल्न सक्दिन, तपाईं आराम गर्नुस् र मलाई शान्त रहन दिनुस्’ भन्ने आग्रहलाई अंगिकार गरेर विदामा बसे । उनी विदामा त बसे तर उता अख्तियार (रातोघर) ले गहनाको कमीलाई चाँदीको बास्लेट पठाउने तयारी गरेको छ । त्यही बास्लेट लगाउनु अगावै उनलाई विदा दिएर आफुहरू छिटा पर्नबाट जोगिन खोजेको खस्याकखुसुक प्रधानमन्त्री कार्यालयको घाँसे मैदानमा हुने गरेको छ ।

रातोघरको छाताले छोपुनज्याल कम बोल्ने र गम खाने गरेका अर्यालले अव भने मुख खोल्नुपर्ने समय आएको छ । उता “गाँजा बाजे”का नामले चर्चा कमाएका भीम उपाध्याय बालाई पनि रातोघरले मेलम्चीको पानीमा फोहोर मिसाएको अभियोग पत्र दायर गरेको छ । उनी भ्रष्टचार विरुद्धको अभियान चलाइरहेका बेला रातोघरले च्याप पारेपछि अहिले उनको भेष र आवाजमा साथदिनेहरू ओइलाएका छन् । शक्तिभन्दा सत्ता बलियो कि सत्ता भन्दा शक्ति अव यो दोहोरी लामो समय चल्ने छ ।

सुनिल पौडेल हिँडेपछि सुनसान बनेको टेलिकम अहिले ३७ पैसामा छापिएको रिचार्जकार्ड ५१ मा छापिने भएपछि हराभरा भएको छ । हिउँद सकिएर वर्षाको सुरुवात हुन लाग्दा शीतको मार खेपेका बोटविरुवा हरियो हुनु नौलो कुरा होइन । तर, एक्कासी वर्षा नभइ फेरि त्यही शीतको सहारा लिएर फैलन खोज्नु कति घातक हो भन्ने विषय बुझ्न कठिन छैन । यो घटनाले भर्खरै प्रवन्ध निर्देशक बनेकी संगीता पहाडीको पनि रक्तचाप बढाएको छ ।

यी घटना प्रतिनिधि मात्र हुन । तातेको वस्तु भाडामा छोपेपनि पड्किन्छ । प्रधानमन्त्री प्रचण्डले एक पटक भनेका थिए ‘मलाई भ्रष्टचारीलाई अझै हान्न मन छ ।’ यो छिटा कहाँसम्म पुग्छ थाहा छैन । तर, आफै काँचको घरमा बसेर पहिलादेखि नै “ठेकेदारको नाइँके” भन्ने पदवी पाएका उनी कति सक्षम हुन्छन् ? हेर्नुपर्छ । छोरी, ज्वाइँ, बुहारी र भाइले चेपेर आफै पिना बनेका उनले खै ! कसरी तेल निकालेर लिटरको भाडो भर्लान । धमिलो बनेको वातावरणलाई वर्षात्ले सफा बनाउँछ । उनले यही मेसोमा आफ्नो लक्ष्य पुरा गर्लान वा आफै यो भासमा दविन्छ, त्यसका लागि सत्ता समीकरण पर्खनु पर्छ ।

आजै राजनीतिक समीकरणसँगै सरकार परिवर्तनको तयारीमा छ । कांग्रेसले मिठ्याइँरहेको मुखमा गगन थापाले आयातित निमको धुलो छर्किएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्थामा कांग्रेस पुगेको छ । सत्ताको मेसो मिलाउन एमाले राष्ट्रिय स्वतन्त्र पाटी र माओवादी फेरि एउटा परिधिमा छिरेका छन् । एकपटक एमालेले फेरि माओवादीलाई पोल्टामा हालेर रास्वपा र जनता समाजवादी पार्टीलाई बोक्ने तयारी गरेको छ । राप्रपा भने यो खेलमा फेरि पनि बाहिर नै परेको छ । एमाले आफु एक्लै उभिन नसक्ने भएको हो वा प्रचण्डलाई नै गुरु थाप्ने तयारी गरेर यो रणनीति अपनाएको हो भन्न सकिन्न । तर, एमालेले देखेको सपना हिजो कसरी तुहेको थियो भन्ने बिर्सनु हुँदैन । यो उसको गठबन्धन भत्काउने खेल हो भने यसले केही नयाँ आयामहरू ल्याउन सक्छ । हैन भने यो काँचो रहर मात्र हुनेछ ।

“कम्पास विनाको जहाज”को उपमा पाएको रास्वपा सहकारी मुद्दा, ठगी र आर्थिक लेनदेनमा फसिसक्यो । यो भण्डारमा नै कुहेको “वीउ” हो । यसबाट फलको आशा बेकार छ भन्ने सबै राजनीतिक दललाई थाहा छ । तर, गणपुरक राजनीतिक भएको हुनाले संख्याका लागि नै पद बाँडेर भएपनि साथ लिनेपर्ने बाध्यता छ । यही बाध्यतामा ऊ फेरि गृहमन्त्रीको कुर्सीमा बसेर सहकारीवालाको टुप्पी चुडाल्ने दाउमा छ । यो सपना कति सार्थक हुन्छ भन्न सकिन्न । बार्दलीको सपोर्ट कहिले र कहाँसम्म पुग्छ । उसको सपना त्यहाँसम्म मात्र झाँगिन्छ । माओवादी र कांग्रेसले भने यो ओइलाएको गमलालाई टेवुलमा किन राख्ने भनेर बगौंचाको कुनामा पु¥याएको सत्य कसैबाट लुकेको छैन ।

भ्रष्टचारको अहिलेको लहरोले पूर्व सचिव र मन्त्रीहरूप्रति चासो देखाएको हुनाले युवामात्र होइन अव बुढा पनि विदेशिने पक्का पक्की छ । हुन त छोराछोरी उतै भएकालाई बाहिर जान के समस्या भयो र ? फेरि पास्पोर्ट पहिला नै तयारी छदैँछ । अन्य देशबाट नेपाल ल्याउनका लागि सिआईवीले इन्टरपोलको सहायता लिनुपर्ने अवस्था आउने न हो बाँकी त के नै हुन्छ र । रातोघरको यो सक्रियता कसरी, कहिलेसम्म र कुन शक्तिले अगाडि बढ्छ भन्न सकिन्न । तर, धेरैको निन्द्रा हराम गराएर पहिला हजम गराएको उकेल्न लगाउने हिम्मत गरेकोमा साधुवाद भन्न सकिन्छ ।

अध्यागमन, भन्सार र यातायातमा जान खोज्नेहरू मन्त्रालयको सानो कोठा छान्न थाले । अध्यागम र भन्सार सुनका पोका रोक्न नसकेपछि आफैं आपतमा परेका छन् । यातायातको भीडबाट चिट छिराउनेहरू अमिलो मुख पारेर हिँड्न बाध्य भए । यो आपतले अव सचिव र महानिर्देशक छान्ने र सरुवामा चासो राख्ने मन्त्रीहरू पनि आ..होस् भन्ने तयारीमा पुग्छन् कि भन्न सकिन्छ ।
जे होस् राजनीतिक आँडमा कर्मचारी र कर्मचारीको आँडमा राजनीतिकर्मी सबैको सातो गएको छ । यो सातो ल्याउनका लागि डाक्टरले नसक्ने भएपछि ठुलो धामीको व्यापक खोजी छ । हेरौं राजनीतिले कर्मचारीतन्त्र र कर्मचारीतन्त्रले राजनीति कसरी थाम्छ । यो विषय फूल्न त बाँकी नै छ तर शीतको ताप सहेर फेरि कसरी फर्किन्छ । त्यो भने भगवान जानुन् ।

तपाईको बिचार