काठमाडौँ, ८ माघ । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य अनिल मल्लले महासचिव किरण राईले किर्ते र ठगी गरेको आरोप लगाउँदै छनबिन गर्नका लागि उजुरी दर्ता गराएका छन् ।
मल्लले इमेलमार्फत सोमबार एन्फा पुनरावेनद समितिमा उजुरी दर्ता गराएका हुन् । मल्लले यो नेपाली फुटबल र एन्फाका लागि मात्र नभएर सिंगो नेपाली खेलकुद क्षेत्रकै अवैधानिक र लज्जास्पद विषय रहेको भन्दै महासचिव राइविरुद्ध किर्ते र ठगीको आरोप लगाउँदै छनबिनको माग गरेका छन् ।
यो विषय नेपाली फुटबल र एन्फाका लागि मात्रै नभई सम्पुर्ण नेपाली खेल क्षेत्रकै लागि अवैधानिक र लज्जास्पद विषय हो। यो विषय कार्यसमिति लगायत सम्पुर्ण सरोकार वालाका लागि किर्ते र ठगीको विषय हो ,’ पत्रमा भनिएको छ,‘उपरोक्त विषयमा छानबिन गरी कार्यसमितीको निर्णय लेख्ने आधिकारिक व्यक्ति एन्फा महासचिव उपर किर्ते , ठगी र मनमानी तरिकाले माइन्युट लेखिएको विषयमा कारबाही प्रक्रिया अघि बढाई, एन्फालाई वैधानिक र पारदर्शिताको बाटो अवलम्बन गर्न प्रेरित गरिदिन सादर अनुरोध गर्दछु ।’
मल्लले छनबिनका लागि पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकको एजेन्डा, निर्णय पुस्तिका र भिडियोको अध्ययन गर्न आग्रह गरेका छन् ।
‘पुनः उपरोक्त विषयमा, अनुसन्धानका लागि २०८० पौष २ गते सम्पन्न कार्यसमिति बैठकको एजेण्डा, निर्णय पुस्तिका र कार्यसमिति बैठकको भिडियो रेकर्डको अध्ययन गर्दा स्पष्ट हुने समेत जानकारी गराउँदछु’ पत्रमा भनिएको छ ।
तपाईको बिचार