काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

267

काठमाडौँ, २९ जेठ । काठमाडौँ उपत्यकामा वाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए । उनले भने, “नदी पूर्णरुपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।”

गुहेश्वरीमाथि धापमा जस्तै बिभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए । वाग्मती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि वाग्मती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ । वाग्मती सफा गर्नका लागि ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिछ्याएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ ।

वाग्मतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । वाग्मतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म वाग्मती सफा नहुने देखिएको छ । समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हुँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले वाग्मतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ । वाग्मती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो ।

पशुपति क्षेत्रको वातावरण सुधारका लागि विसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो । सुरुमा कार्यान्वयन र अनुगमन समितिका रुपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो । रासस

तपाईको बिचार