एसियाली खेलकुदको तयारीमा नेपाली बक्सिङ टोली, गुवाहाटीमा बन्द प्रशिक्षणको महासङ्घ टोलीद्वारा निरीक्षण

642

काठमाडौँ। जापानको आइचि–नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ को तयारीका लागि नेपाली बक्सिङ टोलीको भारतको गुवाहाटीमा वैदेशिक बन्द प्रशिक्षण जारी रहेको छ।

स्पोर्ट्स अथोरिटी अफ इन्डिया (SAI) को आसामस्थित क्षेत्रीय कार्यालयको समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रशिक्षण शिविरको नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीसहितको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।

निरीक्षण टोलीमा महासङ्घका कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ सङ्घका अध्यक्ष रामचन्द्र थापामगर, अन्तर्राष्ट्रिय निर्णायक सन्तोष आले मगर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रमेशदास श्रेष्ठ सहभागी थिए।

वैदेशिक प्रशिक्षणमा तीन महिला र चार पुरुष गरी सात खेलाडी तथा दुई प्रशिक्षकसहित नौ सदस्यीय टोली सहभागी छ। टोलीको मुख्य प्रशिक्षकमा राज श्रेष्ठ र प्रशिक्षकमा दीपक महर्जन रहेका छन्।

महिला ५१ केजीमा रमिशा श्रेष्ठ, ५४ केजीमा अस्मिता दुवाल र ६५ केजीमा कुसुम तामाङ प्रशिक्षणमा छन्। पुरुषतर्फ ५४ केजीमा चन्द्रबहादुर थापा, ६० केजीमा खगेन्द्र रोका मगर, ७० केजीमा दानबहादुर दर्लामी मगर र ९० केजीमा रबिन नेपाल सहभागी छन्।

निरीक्षणका क्रममा प्रतिनिधिमण्डलले SAI को खेल पूर्वाधार, प्राविधिक प्रशिक्षण, स्पारिङ, खेलाडीको शारीरिक फिटनेस, डाइट तथा स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो। टोलीले मुख्य प्रशिक्षक राज श्रेष्ठ र प्रशिक्षक दीपक महर्जनसँग खेलाडीको प्रदर्शन, प्रशिक्षणको अवस्था र आगामी रणनीतिबारे छलफलसमेत गरेको थियो।

महासङ्घका पदाधिकारीले खेलाडीलाई वैदेशिक प्रशिक्षणको अधिकतम उपयोग गर्दै एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक पदक जित्ने लक्ष्यका साथ तयारी गर्न प्रोत्साहित गरेका छन्।

यसैबीच, महासचिव भण्डारीको समन्वयमा प्रशिक्षणरत नेपाली खेलाडी तथा प्रशिक्षकलाई टिसर्ट र ट्र्याकसुट वितरण गरिएको छ। उक्त सामग्री अमेरिका निवासी बक्सिङ प्रशिक्षक धुर्वलाल श्रेष्ठ र विजय सिंह डंगोलले प्रायोजन गरेका हुन्।

महासङ्घका अनुसार आगामी दिनमा पनि उच्चस्तरीय प्रशिक्षणलाई निरन्तरता दिन आवश्यक सहकार्य तथा सम्झौता गर्ने तयारी भइरहेको छ। SAI को प्राविधिक वातावरणमा भइरहेको प्रशिक्षणले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्दै आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न महत्वपूर्ण योगदान पुग्ने महासङ्घको विश्वास छ।

तपाईको बिचार

सम्बन्धित खबर