दिल्ली आन्दोलनमा सहभागी हुन कलाकारलाई पैसाको प्रस्ताव गरिएको अभिनेत्री आकांक्षाको दाबी

521

मुम्बई । भारतीय अभिनेत्री आकांक्षा पुरीले दिल्लीमा जारी विद्यार्थी आन्दोलनमा सहभागी हुन मनोरञ्जन क्षेत्रका कलाकार तथा कन्टेन्ट क्रियटरहरूलाई पैसाको प्रस्ताव गरिएको दाबी गरेकी छन्। उनको यो अभिव्यक्तिले सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा व्यापक चर्चा पाएको छ।

बिग बोस ओटीटी र टेलिभिजन श्रृंखला ‘विघ्नहर्ता गणेश’ मार्फत चर्चामा आएकी पुरीले आन्दोलनलाई प्रचार र कमाइको माध्यम नबनाउन आग्रह गरेकी छन्।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, “मानिसहरू सही उद्देश्यका लागि उभिनुपर्छ। आन्दोलनलाई बजारीकरण गर्ने, यसबाट पैसा कमाउने वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउनु हुँदैन। धेरै व्यक्ति र समूहहरूले कलाकार र कन्टेन्ट क्रियटरहरूलाई र्‍यालीमा सहभागी हुन तथा चर्चा बटुल्न सम्पर्क गरिरहेका छन्।”

उनले आफू यस्तो गतिविधिको हिस्सा बन्न नचाहेको स्पष्ट पार्दै विद्यार्थीहरूको पक्षमा नै उभिने बताइन्। “उनीहरू देशको भविष्य हुन्। उनीहरूमाथि भएको व्यवहारले मलाई निकै दुःखी बनाएको छ। उनीहरूका जायज माग सुनिनुपर्छ र उनीहरू समर्थनका हकदार छन्,” उनले भनिन्।

दिल्लीको जन्तर मन्तरमा २१ दिनसम्म अनिश्चितकालीन अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई स्वास्थ्य अवस्था बिग्रिएपछि दिल्ली प्रहरीले जुलाई १८ मा बलपूर्वक अस्पताल लगेको घटनापछि आन्दोलन थप चर्किएको थियो।

त्यसपछि विद्यार्थीहरूले संसद भवनतर्फ शान्तिपूर्ण मार्च निकालेका थिए। तर प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसबीच बलिउड र टेलिभिजन क्षेत्रका विभिन्न कलाकारहरूले विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाइरहेका बेला आकांक्षा पुरीको आन्दोलनमा सहभागी हुन पैसाको प्रस्ताव गरिएको भन्ने दाबीले नयाँ बहस सिर्जना गरेको छ।

वाङचुकले अनशन भने अन्त्य गरिसकेका छन्। यद्यपि जन्तर मन्तरमा आन्दोलन अझै जारी रहेको बताइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर