टेलिकम वर्कर्स युनियनकाे ३५औं वार्षिकोत्सव सम्पन्न

521

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनकाे ३५औं वार्षिकोत्सव बुधवार ( ६ साउन , २०८३ ) अध्यक्ष रोशन बजगाईंको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित टेलिकम प्राङ्गणमा आयोजित मूल समारोहमा अध्यक्ष बजगाईंले टेलिकम व्यवस्थापनको नीतिगत तथा व्यवस्थापकीय असफलताको जिम्मेवारी नलिई ट्रेड युनियन र कर्मचारीमाथि थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

अध्यक्ष बजगाईंले आउटसोर्सिङका नाममा पुराना कर्मचारीहरूलाई अपायक सरुवा गरी दुःख दिने काम भइरहेकोले यस्ता कार्य तत्काल सच्याउन माग गरे। आउटसोर्सिङले परिणाममा कम्पनीको साख गिराएको दाबी गर्दै उनले व्यवस्थापनले आफ्नो कार्यशैली नसच्याए कर्मचारीहरू आन्दोलनमा उत्रने चेतावनी दिए।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले टेलिकम व्यवस्थापनले ग्राहक र कर्मचारीका समस्यालाई सदैव सुन्दै आएको र व्यवस्थापन सधैं ‘ट्रेड युनियनमैत्री’ रहने प्रतिबद्धता व्यक्त गरिन्।

समारोहका प्रमुख वक्ताको रूपमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले ट्रेड युनियन अधिकारलाई संविधानले नै मौलिक हकमा व्यवस्था गरेकाले कुनै पनि शासकले चाहेर मात्र यसमा बन्देज लगाउन नसक्ने बताए। मिश्रले नेपालमा ट्रेड युनियनका नाममा हुने गलत अभ्यासले उत्पन्न गरेका विसंगतिहरू केलाएर सच्चिनपर्ने अवस्था रहेकाे विचार व्यक्त गरे । कानुनी शासनमा न्यायालयले सदैव विधि र विधानमा रहेर न्याय प्रदान गर्ने उनले विश्वास व्यक्त गरे।

समारोहका अतिथि नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) का अध्यक्ष योगेन्द्र कुमार कुँवरले ट्रेड युनियन आन्दोलनलाई अब सुशासनको प्रतीकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । कतिपय अवस्थामा ट्रेड युनियनहरू व्यवस्थापकीय भूमिकामा देखिँदा नागरिक तहमा नकारात्मक भावना सिर्जना भएको भन्दै उनले यसलाई सच्याएर कर्मचारी र नागरिक सेवाको प्रतीक बन्नुपर्नेमा जोड दिए। राज्यले आईएलओ (ILO) अभिसन्धि पारित गरिसकेको र नेपालको संविधानले नै ट्रेड युनियन अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उनले स्मरण गरे।

३५औं वार्षिकोत्सवका अवसरमा युनियनले टेलिकममा कार्यरत कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको थियो। स्थापना दिवसको अवसर पारेर नेपाल टेलिकमका देशभर रहेका २०६ वटा एकाइ तथा प्रतिष्ठानहरूमा वृक्षारोपण, खेलकुद, रक्तदान लगायतका विभिन्न सिर्जनात्मक र सेवामूलक कार्यहरू सम्पन्न भएको युनियनका महासचिव लोकेन्द्र पनेरुले जानाकारी दिए।

तपाईको बिचार

सम्बन्धित खबर