अर्थमन्त्री खनालद्वारा अमेरिकी अधिकारी र दातृ निकायसँग उच्चस्तरीय छलफल

अर्थमन्त्री खनालद्वारा अमेरिकी अधिकारी र दातृ निकायसँग उच्चस्तरीय छलफल

651

वासिङटन डी.सी., असोज २९ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विभिन्न अमेरिकी अधिकारी र दातृ निकायका प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गर्नुभएको छ।

अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा मन्त्री खनालले नेपाल–अमेरिका बीचको व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै Nepal Trade Preference Program (NTTP) को म्याद थप गर्न आग्रह गर्नुभएको हो। यस अवसरमा अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने र आपसी हितका विषयमा संवाद भएको थियो।

त्यसैगरी मन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युत क्षेत्रमा लगानी रहने जानकारी गराएका छन्।

जाइका प्रतिनिधिहरूसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउने विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

यसैबीच, अर्थमन्त्री खनालले आईएमएफका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिवासनसँग पनि भेटवार्ता गरी कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रम (Extended Credit Facility) लाई निरन्तरता दिने विषयमा छलफल गर्नुभएको छ।

छलफलमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व जस्ता विषयमा दुवै पक्षबीच विचार–विनिमय भएको थियो।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित रहनुभएको थियो।

तपाईको बिचार

सम्बन्धित खबर