चुरे संरक्षण मधेशको सर्वाधिक चासो

चुरे संरक्षण मधेशको सर्वाधिक चासो

589
महोत्तरी । मधेशको समृद्धिका लागि चुरे संरक्षणको अपरिहार्यता भएको विज्ञहरुले औँल्याएको छ ।
विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले बर्दिबासमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको कार्यसूचीअनुसारको दुईदिने ‘चुरे संरक्षण र विकाससम्बन्धी प्रशिक्षण’ कार्यक्रममा चुरे तथा जलाधारविज्ञहरुले चुरेसँग मधेशको आम जीवन पद्धति नै गाँसिएको हुँदा यसको संरक्षणमा सर्वपक्षीय चासोको आवश्यकता विज्ञले औँल्याएको हो ।
कार्यक्रमको पहिलो दिन सोमबारको सत्रमा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले ऊर्जा, खानेपानी, वातावरण र सिँचाइसहितका मधेशका जनताको आम जीवनसँग जोडिएका विषय चुरेसँग अन्योन्यास्रित हुँदा यसको संरक्षण पहिलो प्राथमिकता पर्नुपर्ने स्पष्ट पारे । यसका लागि व्यक्ति–व्यक्तिमा चुरे चासो जगाउन आवश्यक रहेको डा साहले बताए ।
यसैगरी, आज सम्पन्न दुईदिने सो प्रशिक्षण कार्यक्रममा विज्ञ डा नागेन्द्रप्रसाद यादवले चुरे संरक्षणको मुद्दालाई मजबुती साथ उठाउन पहिले समस्याको पहिचान स्पष्ट रुपमा गरिन आवश्यक रहेको औँल्याए। चुरेका समस्या दीर्घकालीन समाधान गर्न तीनै तहका सरकार र सम्बद्ध सरोकारवालाले योजनाबद्ध कार्यक्रम बनाएर कार्यान्वयनमा जानुपर्ने डा यादवको सल्लाह छ । चुरे क्षेत्र प्राकृतिक सम्पदाको भण्डार रहेको हुँदा मानव हितमा यिनको उपयोगको स्पष्ट नीति बन्नुपर्ने र सो अनुरुप कार्यान्वयन हुनुपर्नेमा डा यादवको जोड छ ।
कार्यक्रममा चुरे तथा जलवायुविज्ञ डा विनोद भट्टले ‘चुरे संरक्षणः कसको चासो, कसको जिम्मेवारी’ विषय केन्द्रित कार्यपत्र नै प्रस्तुत गरी छलफल चलाए । विश्वव्यापी जलवायु परिवर्तनको असरले चुरे वन तथा जलाधार क्षेत्रमा पारेको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न चुरे संरक्षण र व्यवस्थापनका क्षेत्रमा स्थानीयस्तरमा भएका असल सिकाइका अभ्यासबारे चुरे विज्ञ नागदेव यादवले जानकारीमूलक कार्यपत्र प्रस्तुत गरे । यिनमा चुरे शृङ्खलामा भएका खोल्सी नियन्त्रण, पानी पुनर्भरणका पोखरी निर्माण, पहिरो नियन्त्रण र वृक्षरोपणसहितका गतिविधिबारे उल्लेख गरिएको छ ।
विज्ञहरुले मधेशमा चुरे संरक्षण विषय प्रायोगिक विज्ञानमा आधारित हुनपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० का सचिव डा रवीन्द्रप्रसाद ढकालले प्रतिष्ठान स्थापनाकालयताका ४४ वर्षमा हासिल गरेका उपलब्धि सोझै जनसम्बन्धित बनेका उल्लेख गर्नुभयो । यिनमा ब्रिकेट, सौर्य ऊर्जा, इमेलको प्रयोग, इकोसिस्टम र खाद्यवस्तुको परीक्षण ९विकिरण परीक्षण० र मिचाहा वनस्पति व्यवस्थापन मुख्य काम भएका उनले बताए ।
दुईदिने सो प्रशिक्षण कार्यक्रममा ‘चुरे संरक्षण नीति, अवस्था, सवाल र समाधानका उपाय’ विषयक कार्यपत्र चुरेविज्ञ डा नागेन्द्रप्रसाद यादवले प्रस्तुत गरे । दुईदिने प्रशिक्षण कार्यक्रम विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशको व्यवस्थापन समितिका अध्यक्ष प्राडा पारसनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रशिक्षणका सहभागीलाई चुरे संरक्षणका असल अभ्यास भएका केही ठाउँको अवलोकन गराइएको छ । यिनमा बर्दिबास–१ को पानीखोल्सी व्यवस्थापन र गौशाला–८ कुष्माढीको बगरखेतीको अवलोकन सहभागीले गरेका छन् । प्रशिक्षणमा मधेशका आठै जिल्लाका डिभिजन वन कार्यालय र प्रदेशका चारवटा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, विभिन्न जिल्लाका सिँचाइ कुलो संरक्षण समिति र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित ५० जनाको सहभागिता रहेको आयोजक विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले जनाएको छ ।

तपाईको बिचार