काठमाडौँ । सोलुसन मिडिया प्रा लिद्वारा संचालित नेपालकैरन डटकमविरुद्ध लिखित बेइज्जतीको मुद्दा दायर भएको छ ।
आफ्नो मानप्रतिष्ठामा आघात पुर्याएको भन्दै तत्कालीन पूर्वोदय ऋण तथा बचत सहकारी संस्थाका प्रबन्धक (हाल मनो कनकामना) भुवनकुमार खतिवडाले नेपालकैरन डटकमविरुद्ध लिखित बेइज्जतीको मुद्दा दायर गरेका हुन् ।
कार्तिक ४ गते जिल्ला अदालत काठमाडौँमा दायर भएको फिरादपत्रमा नेपालकैरन डटकम तथा प्रधान सम्पादक निर्मल अधिकारी लगायतलाई विपक्षी बनाएको छ ।
गत साउन २३ गते नेपालकैरनमा प्रकाशित बानेश्वर वृत्तका डिएसपी बुढाथोकीविरुद्ध अख्तियारमा उजुरी शीर्षकको समाचारमा आफ्नो नाम र वतन खुलाएर सामाजिक प्रतिष्ठामा आघात पुर्याएको भन्दै खतिवडाले उजुरी दिएका हुन् ।
मुद्दामा उनले उचित क्षतिपूर्ति तथा मुद्दामामिलामा लागेको खर्च समेत भराउन माग गरेका छन् । उनले नेपालकैरनले मुलुकी अपराधसंहिताको दफा ३०७ को उल्लंघन गरेको भन्दै विपक्षीलाई कैद र जरिवानाको माग गरेका छन् ।
उनको मागदाबी पुष्टि भएमा अधिकतम २ वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । विद्युतीय माध्यम प्रयोग गरी बेइज्जती गरेको भए थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।
५० लाख रुपैयाँ बिगो बराबरको बैकिङ कसुर मुद्दामा असार २० गते जिल्ला अदालत काठमाडौँबाट तत्कालीन पूर्वोदय बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक भुवनकुमार खतिवडाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
तत्कालिन बानेश्वर प्रहरी बृत्तका डिएसपी बुढाथोकीले ‘वतन खुलाएर देखाउँदापनि खतिवडालाई जानाजान पक्राउ नगरेको, अनुसन्धान हुँदैछ, खतिवडालाई पक्राउ गर्ने तयारी हुँदैछ’ भने जस्ता बहाना बनाएर उनलाई पक्राउ नगरी मिसिल सरकारी वकिल कार्यालयमा पठाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
त्यही उजुरीको विषयमा नेपालकैरन डटकमले समाचार प्रकाशित गरेको थियो । त्यो समाचारमा सप्तरीको रुपनगर स्थायी ठेगाना भई हाल भक्तपुरको कटुन्जे बस्ने भुवनकुमार खतिवडाको नाम र वतन खुलाइएको थियो ।
खतिवडा ५० लाख रुपैयाँ विगो बराबरको बैकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशमा धरौटीमा रिहा भएका छन् ।
तपाईको बिचार