बागमती प्रदेश : सर्वदलीय बैठक बस्दै

बागमती प्रदेश : सर्वदलीय बैठक बस्दै

873

मकवानपुर, १३ फागुन । बागमती संसद् सञ्चालनका सन्दर्भमा सर्वदलीय बैठक बस्दै छ ।

प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार सर्वदलीय बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलीय सहमति निर्माणका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । बैठक सचिवालयमा नै बस्ने वा अन्य स्थानमा बस्ने भन्ने विषयमा निर्णय भई नसकेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

सर्वदलीय बैठकमा निर्णय नभएको खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउने छैन । संसद्मा पर्याप्त बिजनेस नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्डहरू निर्माण गरी सबै दलहरूको सहमति जुटाएर अघि बढ्ने तयारी सभामुख पाठकको रहेको छ ।

सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादका विषयमा पनि निर्णय गर्नेछ । बैठकले बजेट माथि भइरहेको सत्तापक्ष र विपक्षी दलहरू बिचको अन्तर्द्वन्द्व सन्दर्भमा पनि निर्णय गरी अघि बढ्न तयारी गरिएको छ । सरकार र प्रतिपक्ष दलहरू बिच बजेट माथिको द्वन्द्वका कारण प्रदेशसभा बैठक समेत प्रभावित बन्दै आएको छ । सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्ष बिचको विगतको विवाद समाधान गर्ने योजना रहेको छ । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरू बिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको छ ।

विगत ४ महिना देखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिहरुको नेतृत्व चयन, कानुन निर्माण लगायतका विषयहरू अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्ने सकिएको थिएन ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय सहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर