काठमाडौँ, २२ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए । मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने स्पष्ट पारे ।
उनले भने, ‘महिलामाथि हुने हिंसा र दुर्व्यवहार हटाउन संविधान र कानुनले जतिसुकै व्यवस्था गरे पनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ । त्यही भएर महिला हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई व्यापक बनाउन पनि जरुरी छ । महिला पुरुष भनेको एउटा रथका दुई पाङ्ग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुड्न सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरूको सहभागिता सुनिश्चित गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ । महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने विषय पनि हो । विभेद र दुर्व्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको पर निर्भरतालाई अन्त्य गरेर उनीहरूलाई आर्थिक उपार्जनका निम्ति सबल बनाउँदै महिला सशक्तीकरण गर्न जरुरी छ ।’
तपाईको बिचार