होस्टेल व्यवसायी संघ नेपाल (HEAN) ले मनायो चौँथो वार्षिकोत्सव

557

काठमाडौं । होस्टेल व्यवसायी संघ नेपाल (HEAN) ले आफ्नो चौँथो वार्षिकोत्सव सोमबार ( २५ साउन , २०८३ ) काठमाण्डौँमा रक्तदान देखि सदस्य सम्मानसहित विभिन्न कार्यक्रमका साथ मनाएको छ। संघले वार्षिकोत्सवको अवसरमा शंखमूलस्थित होटल ए–वानको सभाहलमा रक्तदान, सदस्य सम्मान तथा केक काट्नेलगायतका कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवको अवसरमा संघले अध्यक्ष किरण शर्माको अध्यक्षतामा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा काठमाडौं महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख दीपक अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। संघका पदाधिकारी, सदस्य तथा होस्टल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासचिव देवराज कँडेलले गरेका थिए।

समारोहमा अध्यक्ष शर्माले संघ बलियाे भएको र सदस्यहरू सदस्यहरू थपिँदै जाने बताए। उनले कतिपय होस्टेलमा दर्ता तथा अन्य मापदण्ड पूरा नभएको पाइएकोले त्यो पुरा गर्न व्यवसायीहरुलाई अनुराेध गरे। व्यवसायी कुनै समस्या हुनासाथ संघको अफिसमा सम्पर्क गर्न उनले आव्हान गरे। सबै किसिमका अवस्थामा आवश्यक सरसहयोग प्रदान गर्न संघ तत्पर रहेको उनको भनाई थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौँ महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख दीपक अधिकारीले विद्यार्थी तथा सेवाग्राहीलाई सुरक्षित र व्यवस्थित आवासको सुविधा उपलब्ध गराउन होस्टल व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले होस्टेल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सम्बन्धित निकाय तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

वार्षिकोत्सवअन्तर्गत बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। एभरेष्ट हस्पिटल प्रा.लि., नयाँ बानेश्वरको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा १८ वर्षदेखि ६५ वर्षसम्मका र ४५ किलोग्रामभन्दा बढी तौल भएका स्वस्थ व्यक्तिहरूले रक्तदान गरेका थिए। संघका काठमाडौं जिल्ला सचिव ध्रुव कँडेलका अनुसार कार्यक्रममा करिब २५ जनाले रक्तदान गरेका छन्।

वि.सं. २०७९ सालमा स्थापना भएको होस्टल व्यवसायी संघ नेपालले आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आएको छ। संघले व्यवसायीहरूको हकहितका विषयसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै रक्तदानलगायत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सचिव कँडेलले बताए।

तपाईको बिचार

सम्बन्धित खबर