३२औं विश्व आदिवासी दिवस विविध कार्यक्रम सहित मनाइँदै

579

२१ साउन, काठमाण्डौँ। नेपाल आदिवासी जनजाति महासंघले ३२औं विश्व आदिवासी दिवसको तयारी पूरा भएको जनाएको छ। महासंघले बिहीबार ( २० साउन, २०८३) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ! पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता !!’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको हो।

महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले संविधानमा प्राप्त अधिकारको रक्षा तथा कार्यान्वयन र पहिचानसहितको समृद्ध नेपाल निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले यस वर्षको मूल समारोह काठमाडौँको खुलामञ्चमा आयोजना गर्न लागिएको जानकारी दिए।

सम्मेलनमा महासचिव विमल सारु मगरले साउन २४ गते बिहान ११ बजे देशभरबाट हजारौं आदिवासी जनजाति मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्परागत नृत्यसहित भृकुटीमण्डपमा भेला हुने बताए। त्यहाँबाट सुरु हुने ऱ्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै टुंडिखेलस्थित खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत हुने उनले जनाए।

दिवसका अवसरमा आदिवासी जनजाति समुदायका अधिकार, भाषा, संस्कृति, पहिचान, समावेशी विकास तथा नीति निर्माणसँग सम्बन्धित विषयमा विज्ञ, सरोकारवाला, नीति निर्माता र समुदायका अगुवाबीच विषयगत छलफलसमेत गरिने महासंघले जनाएको छ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘अनरिङ्ग इन्डिजिनिअस् मिडवाइभ्स् : सेफगार्डिङ लाइफ एण्ड वेल-विङ’ तय गरिएको छ। दिवसका अवसरमा विभिन्न आदिवासी जनजातिसम्बद्ध संस्थाले सप्ताहव्यापी कार्यक्रमसमेत आयोजना गरिरहेका छन्। संयुक्त राष्ट्रसंघको घोषणा अनुसार प्रत्येक वर्ष अगस्ट ९ मा विश्वभर आदिवासी दिवस मनाइँदै आएको छ।

तपाईको बिचार