काठमाण्डौँ। नेपाल सौर्य विद्युत उत्पादक संघले आफ्नो २६औँ वार्षिकोत्सव बुधवार ( २० साउन, २०८३ ) मनाएको छ। संघको सभाकक्षमा अध्यक्ष भरत कुमार मल्लको सभापतित्वमा आयोजित वार्षिकोत्सव समारोहमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, नविकरणीय उर्जा परिसंघका अध्यक्ष कुशल गुरुङ, नेपाल सौर्य विद्युत उत्पादक संघका संरक्षक राम बहादुर भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो।
संघका महासचिव नेत्र बहादुर खत्रीले संचालन गरेका सो वार्षिकोत्सव समारोहमा संस्थापक परिषद संयाेजक लवमणी राजभण्डारीले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक तथा सौर्य तथा वायु ऊर्जा प्रमुख शुभ लक्ष्मी श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ मा केन्द्रले तर्जुमा गरेको नीति तथा कार्यक्रमबारे जानकारी दिएकी थिइन्।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि समेत रहेका वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक उर्जा प्रवर्द्धनमा संघको लामो योगदानको प्रशंसा गर्दै अब व्यवसायीक वातावरण निर्माण र गुणस्तर कायम गर्नमा ध्यान दिनुपर्ने बताए। उनले संस्थाका सदस्यहरुबीच स्वस्थ प्रतिस्पर्धा मात्र गर्न सुझाव दिए।
मन्त्रालयले बजेट निर्माणमा वैकल्पिक उर्जा क्षेत्रको सरोकारलाई ध्यान दिएको बताउँदै उसले दिगो ऊर्जा फण्ड निर्माण गर्नको लागि विधेयकको प्रक्रिया कानून मन्त्रालयको कार्ययोजनामा पुगेको जानकारी दिए।
कार्यक्रममा नविकरणीय उर्जा परिसंघका अध्यक्ष कुशल गुरुङकुशल गुरुङले कृषि र साना उद्योगमा सौर्य उर्जा प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए। उनले हाल बन्दै गरेको उर्जा ऐन र नियमावली बनाउन निजी क्षेत्रको सहभागिता रहनुपर्छ।
संघका अध्यक्ष भरत कुमार मल्लले सौर्य ऊर्जा प्रविधि भित्र्याउन, यसको प्रयोगलाई प्रोत्साहन गर्न, गुणस्तरीय उत्पादन र सेवा सुनिश्चित गर्न तथा सौर्य ऊर्जासम्बन्धी नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। उनले संघको प्रयासकै कारण नेपालका दुर्गम गाउँदेखि शहरी क्षेत्रसम्म सौर्य ऊर्जाले लाखौं घरधुरीमा उज्यालो पुग्न सकेको र यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन तथा वातावरण संरक्षणमा समेत टेवा पुऱ्याएको बताए। सौर्य ऊर्जाका स्रोतहरूको सम्मिश्रणले देशलाई ऊर्जा सुरक्षा, दिगो विकास र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने उनले बताए।
वार्षिकोत्सवको अवसरमा संघले रक्तदान, आर्थिक सहयोग लगायतका सामाजिक उत्तरदायित्वका कामहरु गरेको थियो।
तपाईको बिचार