पर्वत । पर्वत कुश्मामा रहेको “तपाईँ हाम्रो सहकारी”मा भएको ठगी प्रकरणमा २२ जना विरुद्ध मुद्दा परेपनि, पक्राउमा भने सीमित व्यक्तिहरु मात्र परेका छन् । पक्राउ परेकामध्ये पनि धेरैजसो सोजासाझा व्यक्ति रहेका र अदालतले केहीलाई धरौटीमा छोडेको र केही ब्यक्तिहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । तर, घटनाका मुख्य जिम्मेवार व्यक्ति भने अझैसम्म खुलेआम बजारमा हिँडिरहेको पीडितहरूले गुनासो गरेका छन् ।
पीडित बचतकर्ताहरूका अनुसार फरार भनिएका केही व्यक्ति कुश्मा बजारमा खुलेआम देखिने गरेका छन् । यहाँसम्म कि पक्राउ पुर्जी जारी भइसकेका व्यक्तिहरु समेत प्रहरीकै संरक्षणमा राजनीतिक प्रभाव प्रयोग गरेर विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।
यसैबीच, केही हप्ता अघि कुश्मा बजारमा प्रहरीले आयोजना गरेको कार्यक्रममा सहकारीका ऋण संयोजक रहेका प्रनिश गिरी समेत सहभागी भएका थिए । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको गिरी प्रहरीकै कार्यक्रमभित्र प्रहरी अधिकृतहरूकै बीचमा उपस्थित हुँदा पीडितहरू थप आक्रोशित भएका छन् । पीडितहरूले यसलाई “कानुनलाई प्रत्यक्ष चुनौती” र “प्रहरीको भूमिका मुखदर्शक बनेको” भन्दै कडा आलोचना गरेका छन् ।
सहकारीका अध्यक्ष बाल गोपाल श्रेष्ठसहितका अन्य केही जिम्मेवार व्यक्ति अझै फरार छन् । प्रहरी प्रशासनले उनीहरूको खोजीमा चासो नदेखाएको आरोप समेत पीडितहरूले लगाएका छन् । “सोजासाझा, महिला र वृद्धवृद्धाहरूमात्र पक्राउ पारी ठगी प्रकरणका मुख्य खेलाडीलाई उन्मुक्ति दिइएको छ,” पीडितहरूको आरोप छ ।
यस विषयमा पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बिष्ट सँग सोध्दा उनले “निज अदालत उपस्थित भएको हुन सक्छ” भन्दै प्रकरण ढाकछोप गर्न खोजेको देखियो । तर, पीडितहरूले भने गिरी अझै फरारकै सूचीमा रहेको प्रस्ट पारेका छन् ।
यस्तै, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य ले पनि यस प्रकरणलाई हल्कै ढंगले लिएको पीडितहरूको आरोप छ । उनले “आफूले विषय बुझ्ने प्रयास गर्ने” बताएका भएपनि, आजसम्म गिरी पक्राउ पर्न सकेको छैन ।
पीडितहरूको भनाइमा, बारम्बार सूचना दिए पनि प्रहरी प्रशासन मौन बसिरहेको छ । आर्थिक प्रभावमा परेर प्रहरी स्वयम् सहकारी ठगीका आरोपीलाई आड दिने काममा संलग्न भएको आशंका उनीहरूले व्यक्त गरेका छन् । प्रहरी मुख्यालय समेत यसबारे बेखबर बनेको भन्दै पीडितहरूले आक्रोश पोखिरहेका छन् ।
यता, पीडितहरूले थप गुनासो गर्दै भनेका छन्, “नेपाल प्रहरीमा २÷३ पटक प्रमुख फेरिए तर पनि हामीले न्याय पाउन सकेनौं । हालै चन्द्रकुवेर खापुङ ३२औं प्रहरी महानिरीक्षक बनेका छन् । उहाँ निष्पक्ष र इमान्दार प्रहरी हुनुहुन्छ भन्ने सुनेका छौं । अब उहाँबाट न्याय पाउने हाम्रो आश केही पलाएको छ।”
तपाईको बिचार