काठमाडौ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका व्यक्तिको हत्या आरोपमा दुई नाबालकलाई प्रहरीले पक्राउ गरेको छ र उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान गरी अञ्दाजी ३५ वर्षका व्यक्तिको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ । अन्य पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।
सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए । ती अधिकृतका अनुसार पक्राउ परेकाहरुले बाँसको भाँटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरुले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ । पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन । मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरुले पनि बाँसको भाँटाले हानेको आरोपितको भनाइ छ । उनीहरुलाई हनुमानढोकास्थित एक घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी गरेको छ ।
तपाईको बिचार