काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढी र पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सहमति प्रदान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग गरिएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन्। सडक पुनःनिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायतका प्रमुख मार्ग समावेश छन्।
त्यसैगरी, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सृजना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।
तपाईको बिचार