गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयो

897

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन बिहीवार राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्रकालमा रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

 

 

तपाईको बिचार

सम्बन्धित खबर