काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंले समुदाय, संस्था, परिवार र व्यक्ति व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।
बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताएका छन्। सभापति देउवाले बडादसैंको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्।
दसैंको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौं नागरिक घरवारविहीन हुन पुगेको बताएका छन्।
‘मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन्। दसैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ,’ उनले उल्लेख गरेका छन्, ‘हजारौं नागरिकका करोडौंका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको बताउँदै हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनले बताएका छन्।
विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान रहेको उल्लेख गर्दै उनले दसैं एक धार्मिक र सांस्कृतिक पर्व भएको पनि बताएका छन्।
उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन्।
तपाईको बिचार