शैक्षिकसत्र २०८१ को विश्वविद्यालय क्यालेन्डर स्वीकृत, त्रिवि परीक्षा नतिजा ९० दिनमै

शैक्षिकसत्र २०८१ को विश्वविद्यालय क्यालेन्डर स्वीकृत, त्रिवि परीक्षा नतिजा ९० दिनमै

1059

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ । रेक्टर खड्ग केसीका अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था क्यालेन्डरमा गरिएको छ ।

सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ । क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अध्ययनसमेत गरिने केसीले बताए । त्रिविमा समयमा भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुने गुनासो छ । नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलाइ हुँदै आएको थियो ।

क्यालेन्डरअनुसार आगामी शैक्षिकसत्र साउन दोस्रो सातादेखि सुरु हुनेछ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि मात्र विश्वविद्यालयमा स्नातक तहमा भर्ना प्रक्रिया सुरु हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले साउनमा नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । त्रिविले भदौसम्म आवेदन फाराम वितरण गर्ने र प्रवेश परीक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ । असोज र कात्तिकमा विद्यार्थी भर्ना गरेर मंसिर पहिलो सातादेखि कक्षा सञ्चालन गर्ने क्यालेन्डरमा उल्लेख छ ।

वार्षिक प्रणालीमा आगामी जेठ अन्तिम साता परीक्षा सञ्चालन गर्ने र असोज दोस्रो साता नतिजा सार्वजनिक गर्ने उल्लेख छ । सेमेस्टर प्रणालीमा परीक्षा र नतिजा तोकिएकै समयमा हुँदै आए पनि त्रिविमा वार्षिक प्रणालीमा भने ढिलासुस्ती हुँदै आएको छ । क्यालेन्डरमा २०८५ सम्म स्नातक तहको पढाइ पूरा गर्न लाग्ने समयसम्मकै भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्बन्धी समयसीमा तोकिएको छ । स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा प्रवेश परीक्षा र भर्ना हुने तय गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगले गत असारमा सबै विश्वविद्यालयलाई एकीकृत शैक्षिक क्यालेन्डर तयारी गरी कार्यान्वयनका लागि पठाएको थियो । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरकफरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले क्यालेन्डर प्रस्ताव गरेको थियो । विश्वविद्यालयले आफ्नो अनुकूल हुने गरी क्यालेन्डर लागू गर्न सक्ने आयोगले जनाएको थियो ।

तपाईको बिचार