काठमाडौँ, १३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा अब काम नगरी नेता बन्न नसक्ने बताउनुभयो। पोखरेलले अब पार्टीमा नेताहरूलाई काम गरेर देखाउन आग्रह गर्नुभयो ।
एमाले काम गर्नेहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नु पर्दछ’, उहाँले भन्नुभयो।
एमाले हाल ‘मिसन-२०८४’ लाई मुख्य लक्ष्य बनाएर अघि बढेको बताउनु भएको छ। विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँले बताउनु भयो। अहिले गरेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्याउने गरी नै गरेका छौँ, मिसन २०८४ को हाम्रो उद्देश्यमा हाम्रो कुनै फेरबदल भएको छैन।’
महासचिव पोखरेलले यति बेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद नभएको स्पष्ट पार्नुभयो। नीति, नेतृत्व र राजनीतिक मुद्दाका हिसाबले पार्टी एकैठाउँमा रहेको उहाँले बताउनुभयो। तथापि स्थानीय र प्रदेश तहमा व्यक्तिगत मतभेदलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रूपान्तरण गरेर आफूलाई बलियो देखाउने खोज्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले त्यो पार्टीका लागि हानिकारक हुने बताउनुभयो।
पार्टीका अधिवेशनमा सहमति भएन भने व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न पाइन्छ भनेको भए पनि त्यस अनुसार स्वच्छ प्रतिस्पर्धा नभएको उहाँले बताउनुभयो। ‘प्रतिस्पर्धा गर्ने नेताले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन्, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइराखेको छ’, पोखरेलले भन्नुभयो ।
तपाईको बिचार