एमालेले माग्यो मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा

एमालेले माग्यो मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा

1066

काठमाडौँ, १० माघ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।

सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास क्रममा सोमबार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एमालेले मुख्यमन्त्री यादवको राजीनामा माग गरेको हो । एमाले मधेस प्रदेश कमिटीले बुधबार एक विज्ञप्ति जारी गदै भनेको छ, ‘यी सबै घटनाले यो सरकारको नालायकीपन प्रस्ट्याउँछ । सरकारको आफ्नै भूमिकाले उसको अब सरकारमा बस्ने नैतिकता समाप्त भएको हाम्रो ठहर छ ।’

एमाले मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले मन्त्रिपरिषद्का सदस्यहरु र गठबन्धन दलहरुकै सहमति लिन नसक्नु, सहकुलपति रहेका शिक्षा मन्त्रीले कार्यक्रम रोक्न लिखित निर्देशन गर्नु, मुख्यमन्त्रीकै उपस्थितिमा सहकुलपतिको विरोधका बाबजुद संघीय सांसद उपेन्द्र यादवबाट विश्वविद्यालयको शिलान्यास गराउनु मुख्यमन्त्री यादवको असक्षमता भएको बताए ।

शिलान्यासको विरोध गर्दा तत्कालीन शिक्षा मन्त्री एवं जनमत पार्टीका नेता महेश यादव  र सत्ता पक्षका प्रदेश सांसदहरू नै प्रहरीबाट कुटिनुले लोकतन्त्रको उपहास भएको एमालेले ठहर गरेको उनले बताए । विश्वविद्यालय भवन शिलान्यासमा विरोध जनाउँदै जनमत पार्टीले मधेस सरकार छाडि सकेको छ । भवनको शिलान्यास जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । काठमाडौँमा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरु धोती पहिरन गरी सडकमा निस्किँदा मन्त्री अनिता साहलगायत गठबन्धनका नेता तथा सांसदलाई निषेधाज्ञा उलघंनको बहानामा पक्राउ गरेको घटनाप्रति पनि एमाले मधेस कमिटीले आपत्ति जनाएको छ ।

पहाडमा पनि खाना खादा, श्राद्ध, पूजा गर्दा धोती पहिरन गर्ने गरेको भन्दै अध्यक्ष मण्डलले धोती सबैको साझा पहिरन र आफ्नो पार्टीले धोती र टोपी दुवैको सम्मान गरेको बताए । गठबन्धनको आडमा सरकारले जनता भिडाउने, देशमा अराजकता मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको यी घटनाहरूबाट पुष्टि भएको उनले उल्लेख गरेका छन् ।

तपाईको बिचार