व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक : सञ्चारमन्त्री शर्मा

व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक : सञ्चारमन्त्री शर्मा

788

काठमाडौँ, ८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिनुभएको छ ।

रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आयोजना गरेको क्षमता विकास कार्यक्रममा उहाँले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ ।” रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उहाँले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

“कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्‍याउन हुँदैन”, मन्त्री शर्माले भन्नुभयो ।

विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार नियमनका लागि बोर्डले विभिन्न काम गरिरहेको जानकारी गराउँदै आगामी फागुनदेखि बोर्डबाट पारित गरेरमात्र विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले विज्ञापन बजार खुम्चिएकाबेला हरेक सञ्चारमाध्यमले एकअर्काको अस्तित्व स्वीकार गरेर काम गर्दामात्र सञ्चार उद्योग जोगिने धारणा व्यक्त गर्नुभयो ।

तपाईको बिचार