विराटनगर, १९ पौष । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो । यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ । नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा उनले धन्यवाद दिइन् । यसले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ । संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयंसेविका विमला प्रसाईंले प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले गर्भधारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयंसेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको बताइन् ।
तपाईको बिचार