एमालेमा केपी ओलीको विकल्प कुनै हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

एमालेमा केपी ओलीको विकल्प कुनै हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

1060

दोलखा, २२ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सेनाविनाको सेनापति जस्तै बनाउने उद्घोष गर्नुभएको छ ।

‘समस्या युवाहरूको, समाधान राष्ट्रिय युवा संघको’ भन्ने मुल नाराका साथ आयोजित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी, दोलखाको ९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले अबका दिनमा प्रचण्ड र माधव नेपालसँग एमालेले सहकार्य गर्न नसक्ने प्रष्ट पार्नुभयो । कांग्रेसले प्रचण्डलाई लात हान्ने संकेत पाएपछि पुनः प्रचण्ड बालकोट आउने योजना बनाइरहेको खबर आइरहेको उल्लेख गर्दै उहाँले प्रचण्डलाई एमालेले क्षमादान दिन नसक्ने उल्लेख गर्नुभयो । एमालेको अहिलेको अभियान भनेको नै माओवादी र एकीकृत समाजवादीलाई समाप्त पार्ने भएको उल्लेख गर्दै उहाँले प्रचण्ड र माधवको पार्टीलाई सहकार्य र पार्टी एकता गर्ने नभई माओवादी र एकीकृत समाजवादीका सच्चा कार्यकर्तालाई भने एमालेमा भित्र्याउने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फेरी म सन्दैछु, एमालेसँग सहकार्यको प्रस्तावसहित बालकोट आउने तयारी गर्दैछन् रे । हामी सवैले नेतृत्वलाई भन्नै पर्छ एमालेले प्रचण्डलाई क्षमादान दिन सक्दैन । एमालेलाई कमजोर बनाउन खेल खेलिरहेका छन् तर एमालेलाई कमजोर बनाउन सक्ने क्षमता छैन । एमालेले चाहायो भने माओवादीलाई सधैंको लागि समाप्त पारीदिन सक्छ । त्यसैले अब प्रचण्ड लगायतका नेतासँग एकता हैन, माओवादीका सच्चा कार्यकर्ता एमालेमा प्रवेश गराउने अभियान एमालेले चलाएको छ । एमालेमा केपी ओलीको विकल्प कुनै हुनै सक्दैन । फेसबुकमा चलाइएका हल्लामात्र हुन् । एमाले एकढिक्का छ । गुट र उपगुट छैन । कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेका छौं । प्रचण्ड र माधव कुमार नेपाललाई सेनाविनाको सेनापति जस्तै बनाउँदैछौं । माओवादीले आगामी निर्वाचनमा एक्लै पाँच सीट पनि जित्दैन । एकीकृत समाजवादीले त झन् एक्लै एक सीट पनि जित्दैन । एमाले र कांग्रेसको बैशाखी नपाउने हो भने आगामी निर्वाचन पछि माओवादी र एकीकृत समाजवादी इतिहासमा सिमित बन्नेछन् ।’

सरकारको नेतृत्व गरिरहेको माओवादीले अतिवादी सोच राखी देशमा जातीय तथा धार्मिक युद्ध मच्चाउन खोजिरहेको उल्लेख गर्दै नेता बस्नेतले अतिवादीको आयु छोटो हुने उद्घोष गर्नुभयो । माओवादीको अतिवादी सोचलाई परास्त गर्न एमाले सक्षम रहेको विगतको इतिहास साक्षी रहेको उल्लेख गर्दै संघको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले माओवादीले देशमा अतिवादी सोचका साथ जातीय, धार्मिक तथा सामाजिक सद्भाव खलल् पुर्याए एमाले र राष्ट्रिय युवा संघ नेपाल चुपा लागेर बस्न नसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अतिवादीको आयु १० वर्ष हुन्छ । त्यसमा ६४ देखी अहिलेसम्म माओवादीको अतिवाद समाप्त भयो । पहिचानको पक्षमा एमाले हुन्छ तर जातीय तथा धार्मिक राज्यको पक्षमा एमाले हुन सक्दैन । कोशी प्रदेश सभामा पक्षमा मतदान गरेर माओवादीले बाहिर निस्केर जातीयताको पक्षमा वकालत गरी कोशी प्रदेशमा अतिवादी तथा जातीयताको द्वन्द्व मच्चाउन खोज्दैछ । यदि त्यसो गरे त्यो अराजक तत्वसँग एमाले त्यसको विरुद्धमा हुन्छ, हिजो पनि एमाले जातीयताको राज्यको विपक्षमा रहेको र अब पनि सोही अनुसार हुन्छ । जातीयताको द्वन्द्व मच्चाएमा एमाले र राष्ट्रिय युवा संघ त्यसको विरुद्धमा प्रतिवाद गर्छ । हेक्का रहोस्, युवा संघको पाखुरीको दम घटेको छैन । हामी जातीय, धार्मिक तथा सामाजिक सद्भाव खलल् पुर्याउन दिने छैनौं ।’

माओवादी र सरकार तस्करहरुको अखडा भएको उल्लेख गर्दै उहाँले सुन प्रकरण, भुटानी शरणार्थी, एनसीएल, वाईडबडी, लडाकुलगायतका असंख्य काण्डहरुको नेतृत्व माओवादी तथा कांग्रेसले गरेको दावी गर्नुभयो । सर्वहाराको नेतृत्व गर्छु भन्ने माओवादीले अहिले भ्रष्टाचार र तस्करमा पुगेर अन्त्य भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकार अपराधी तथा राष्ट्रघाती रहेको भन्दै आक्रोस जनाउनुभयो । सूच प्रकरणमा माओवादीका शिर्ष नेता तथा तीनका परिवाहरुको संलग्नता रहेको उल्लेख गर्दै उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतकै सहयोगमा ६० केजी सुन तस्करी भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काभ्रेबाट नक्कली नागरिकता वितरण माओवादीकै संलग्ता रहेको छ । नागरिकता विधेयक, टीकापुर घटनाका नाइकेलाई आममाफी दिएका छन् । आफ्नो पद जोगाउनको लागि प्रचण्डले राष्ट्रघात गरिरहेको छन् । प्रचण्ड सरकार भ्रष्ट, तस्कर तथा दुई नम्बरीको नाईके हुन् । सुन तस्करी माओवादीकै नेता तथा कार्यकर्ताको वरिपरि रहेको अनुसन्धानबाट खुलिसकेको छ । प्रचण्डमा पुगेर भ्रष्टाचार र सुन तस्करीको काण्ड समाप्त हुनेछ । एमालेको सरकार बनेको दिन कारवाही गर्दै लडाकु, बालुवाटार, सुन, एनसीएल काण्डलगायतका सवै काण्डहरुको छानविन हुन्छ । र त्यसको दोषी प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु जेल जानेछन् । आफ्नो भ्रष्टाचार तथा तस्करी काण्डलाई छोप्न एमाले विरुद्ध अनावश्यक आरोप लगाइएको छ । ओम्नी काण्ड, ७० करोड काण्ड, यती, जलहरी काण्ड सवै छानविन गर । हिम्मत छ ? यो धर्तिमा प्रचण्ड र शेरबहादुर देउवाकै नेतृत्वको सरकार छ त । त्यसैले एमालेले एक रुपैया पनि भ्रष्टाचार गरेको छैन ।’

तपाईको बिचार

सम्बन्धित खबर