जुम्ला, ७ साउन । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले भने, “जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।”
गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल नुन कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए । रासस
तपाईको बिचार