भक्तपुर, १४ आसर । सूर्यविनायक नगरपालिले एकै पटक तीन प्रकारको मेला आयोजना गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गरी नगरपालिकाको आयोजनामा असार १५ गतेदेखी १७ गतेसम्म तीन दिने घरेलु, कृषि तथा पर्यटन मेलाको आयोजना गरिएको जानकारी दिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन तथा ब्लोबाग्स नेपालको प्रायोजनमा हुने मेलाको उद्देश्य उद्योगी व्यवसायीहरुलाई सिधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पुर्याउने रहेको बताइएको छ । मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीप उजागर गरिने विज्ञप्तिमा जनाइएको छ ।
मेलामा कृषि र पर्यटनका क्षेत्र मार्फत सूर्यविनायक नगरपालिकाको समग्र विकासमा खेल्न सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रिया समेत हुनेछ । मेलामा भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजाः सम्हेबजी, योमरी, चतामरी आकर्षण हुनेछन् ।
त्यस्तै बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल पनि मेलाको अर्को आकर्षण हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सूर्यविनायकस्थित हरित कृषि तथा थोक बजारमा आयोजना हुने मेलामा ९० वटा स्टल रहने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बाशुदेव थापाले मेला पहिलो पटक आयोजना गरिएकाले यसको अनुभबाट आगामी वर्षहरुमा नियमित रुपमा सञ्चालन गर्ने बताउनुभयो । तीन दिनको मेलामा करिव पाँच करोडको बरावरको कारोवार हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले नगरपालिकाको ध्यान विकासमा मात्र सिमित नभई लक्षित वर्गसम्म पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको बताउनुभयो । उद्योग र कृषिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले मेलामा सम्पूर्णभक्तपुरवासीको साथ र सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपप्रमुख सरिता भट्टराईले एकै ठाउँमा सवैप्रकारका सेवा सुविधाहरुको व्यवस्था गरिएको जानकारी दिनुभयो । सूर्यविनायकवासी जनताको हितमा रहेर नगरपालिकाले व्यवसायीको तथ्याङ् संकलन गर्ने उल्लेख गर्दै उहाँले आन्तरिक रुपमा दरविलो र प्रभावकारी बनाउनु म्ख्य जिम्मेवारी रहेको बताउनुभयो । व्यवसायको आन्तरिक तथा बाह्य बजार विस्तार र प्रवद्र्धन गर्नु अहिलेको अपरिहार्यता रहेको औंल्याउँदै उहाँले भक्तपुरले देशमा मात्र नभई विश्वमा नै परिचित गराउने लक्ष्य रहेको बताउनुभयो । दिर्घकालिन सोचको विकास गर्न जनप्रतिनिधिहरुको साथमा सरोकारवाला निकायहरुसँग सहकार्य आवश्यकता रहेको औंल्याउँदै उहाँले मेलामा स्टल निशुल्क गरिएको जानकारी गराउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरु भक्तपुर प्रवेश गरेपछि चारवटै नगरपालिकामा कम्तिमा पनि एक एक दिन दिन बस्ने गरी योजना आवश्यक रहेको उल्लेख गर्दै उहाँले अब मैले पनि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
तपाईको बिचार