भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

731
Kuldeep Yadav of India celebrates after takign the wicket during the Asia Cup 2023 Super 4s match between Pakistan and India held at the R. Premadasa International Cricket Stadium (RPS), Colombo, Sri Lanka on the 11th September, 2023. Photo by: Vipin Pawar / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ, २६ भदौ । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको लज्जास्पद हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा १२८ रनमै समेटियो ।

वर्षाका कारण पटक रोकिएको एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको खेलमा भारतले पाकिस्तानलाई दुई सय २८ रनले पराजित गरेको छ । वर्षाका कारण दुई दिनसम्म लम्बिएको उक्त खेलबाट दुई अंक बटुल्दै भारतले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

आइतबार पाकिस्तानले टस जिती पहिलो बलिङको निणर्य लिएको थियो । भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । लामो समय वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले भारत र पाकिस्तानबीचको खेलका लागि ‘रिजर्भ डे’ को ब्यवस्था गरेको थियो । एसीसीले ‘रिजर्भ डे’ को सुविधा भारत र पाकिस्तानबीचको खेलका लागि मात्र उपलब्ध गराएपछि सहभागी अन्य टोलीले असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।

श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर। प्रेमादासा रङ्गशालामा सोमबार पनि वर्षाका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । खेल सुरु भएपछि पनि पाकिस्तानको पालीमा पुनः खेल केही समय वर्षाका कारण अवरुद्ध बनेको थियो ।

अघिल्लो दिन अविजित रहेका भारतका दुबै ब्याट्सम्यान केएल राहुल र विराट कोहलीले सोमबार सतक पुरा गरेका थिए । केएल राहुल र कोहलीको सतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो ।

केएल राहुलले टोलीका लागि अविजित एक सय ११ रनको योगदान गरे । उनले एक सय ६ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । ३१ वर्षीय केएल राहुलले एकदिवसीय क्रिकेटमा बनाएको यो छैटौं सतक हो । उनले एकदिवसीय क्रिकेटमा १३ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय १२ रन हो ।

यसैगरी भारतीय टोलीका पूर्वकप्तान कोहलीले अविजित एक सय २२ रन बनाए । उनले केवल ९४ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए ।  ३४ वर्षीय कोहलीको एकदिवसीय क्रिकेटमा यो ४७ औं सतक हो । एकदिवसीय क्रिकेटमा उनले ६५ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय ८३ रन हो ।

कोहली एकदिवसीय क्रिकेटमा १३ हजार रन पुरा गर्ने पाँचौं खेलाडी पनि बनेका छन् । पालीका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् । यो खेलअघि कोहलीले दुई सय ६६ पाली खेल्दै कुल १२ हजार नौ सय दुई रन बनाएका थिए ।

भारतले अतिरिक्त रुपमा नौ रन पाएको थियो । पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदी र सदाब खानले एक—एक विकेट लिएका थिए । आइतबारको खेलमा क्रममा आफ्ना तीव्र गतिका बलर ह्यारिस रउफ घाइते भएपछि सोमबार पाकिस्तान केही दबाबमा परेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२ ओभरमा एक सय २८ रनमात्र बनाउन सक्यो । पाकिस्तानले पालीको गतिलो सुरुआत गर्न सकेन । पाकिस्तानले टोलीको स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम उल हक नौ रन बनाएर आउट भए । उनी आउट हुँदा पाकिस्तानले केवल १७ रन बनाएको थियो ।

उनलाई भारतीय बलर जसप्रित बुमहारले शुभमन गिलद्वारा क्याच गराएका थिए । दोस्रो विकेटका रुपमा कप्तान बाबर आजम पेभेलियन फर्किए । उनलाई १० रनको ब्यक्तिगत स्कोरमा हार्दिक पाण्डेयाले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ४३ रन बनाएको थियो ।

यसैगरी तेस्रो विकेटका रुपमा मोहम्मद रिजवान आउट भए । उनी केवल दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई सार्दुल ठाकुरले केएल राहुलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले ४७ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान फाखर जामन २७ रन बनाउँदै आउट भएका थिए । उनलाई कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ७७ रन बनाएको थियो । पाँचौं विकेटका रुपमा आघा सलमान २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा पाकिस्तानले ९६ रन बनाएको थियो ।

यसैगरी छैटौं विकेटका रुपमा सदाब खान आउट भए । उनलाई ६ रनका ब्यक्तिगत स्कोरमा कुलदिप यादबले सार्दुल ठाकुरद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १० रन बनाएको थियो । सातौं विकेटका रुपमा इफ्तिखार अहमद २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले आफ्नो बलिङमा आफैले क्याच गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १९ रन बनाएको थियो ।

यसैगरी आठौं विकेटका रुपमा फाहिम असरफ पेभेलियन फर्किए । उनलाई चार रनको ब्यक्तिगत स्कोरमा कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय २८ रन बनाएको थियो । नसिम शाह र ह्यारिस रउफ घाइते भएका कारण ब्याटिङ गर्न नै आएनन् ।

तपाईको बिचार