तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावक कुलुङले मारे बाजी

तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावक कुलुङले मारे बाजी

1237
सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म ९४२ किलोमिटर० हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम हुनुभयो ।
यो सहित उहाँ यो प्रतियोगितामा तीन पटक विजेता भइसक्नुभएको छ । सोही दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दलबहादुर कँुवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेन्ड लगाउँदै नेपालकै उमेश राई तृतीय हुनुभयो । ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिँदै दोस्रो एवं नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिँदै तेस्रो हुनुभयो ।
एक्काइस किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम हुनुभएको छ । उहाँले तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो । अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो हुनुभयो ।
बयालीस किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेन्ड लिँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेन्ड लिँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिँदै चीनका म्यथ्यु विलियम तेस्रो हुनुभयो ।
बयालीस किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेन्ड लिँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताउनुभयो ।
यसपल्ट ६९ नेपालीसहित २८ देशबाट दुई सय चार जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक विक्रम पाँडे काजीले जानकारी दिनुभयो । म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशबाट धावकले भाग लिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्ष उमेरकाले पनि भाग लिएको उहाँले जानकारी दिनुभयो । सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ । तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए । हिमालय आरोहणको ७०औँ वर्षको विशेष अवसर पारेर यो पटक म्याराथनबाहेक अन्य कार्यक्रम पनि गरिएको उहाँको भनाइ छ ।

तपाईको बिचार