काठमाडौँ, २१ भदौ । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसद्मा पठाउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ ।
विधेयकमा कतिपय विषय विवादित भए पनि त्यसको अन्तिम टुंगो संसद्ले नै लगाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । मन्त्रिपरिषद्ले संघीय संसद्मा पठाएसँगै अब सो विधेयक प्रतिनिधि सभामा दर्ता भएर पेस हुनेछ । संसद्मा आवश्यक छलफलपछि सो विधेयकले कानूनी मान्यता पाउने छ । यद्यपि, यसअघि पनि संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेको भए पनि पछि फिर्ता गरिएको थियो । सो विधेयकलाई मन्त्रिपरिषद्को विधेयक समितिले समेत आवश्यक छलफल र संशोधनसहित मन्त्रिपरिषद्मा पठाएको हो ।
यसअघि सरकारले सो विधेयक आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको थियो । लोकसेवाले परामर्शसहित सो विधेयक सरकारलाई पठाएसँगै मन्त्रिपरिषद्को विधेयक समितिमा केही दिनदेखि छलफल गरिँदै आएको थियो । प्रस्तावित विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्याउन प्रस्ताव गरिएको छ । त्यस्तै, कर्मचारी सरुवामा वैज्ञानिक र चक्रीय प्रणाली लागू गर्ने प्रावधान पनि उक्त प्रस्तावित विधेयकमा समेटिएको छ । यसै गरी हालको पदमा तहगतको व्यवस्था गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
तपाईको बिचार