प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बनमा परेको हो ।
अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध टेरामक्समा भ्रष्टाचार गरेको आराेप लगाउँदै विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले टेरामक्सबारे बस्नेतले क्षेत्राधिकार बाहिर गई एकल निर्णय गरेको दाबी गरेको छ । ‘नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ग बमोजिम प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो ।
त्यसबेला सूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत थिए ।
साेही समयमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीनमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको आयाेगकाे दाबी उल्लेख छ ।
बस्नेतको एकल निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एक आपसमा मिलेमतो गरी सर्वोच्च अदालतबाट जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानूनविपरीत कार्य भएको आयाेगकाे आराेप छ ।
यस्तो कार्य सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी गर्ने/गराउने मनसाय अन्तर्गत भएको भनिएको छ ।
यही आरोपमा बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
तपाईको बिचार